बाँके, भदौ २० गते ।
बाँकेको नेपालगन्ज–२१ बिर्ताका अरबी खाँको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न उनकी आमा राविया खाँले माग गरेकी छन्।
शनिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै रावियाले हत्यालगत्तै जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न नमानेको आरोप लगाइन्। दोषीलाई उन्मुक्ति दिने नियतले प्रहरीले जाहेरी लिन अस्वीकार गरेको उनको दाबी छ।
घटना भएको साढे दुई वर्ष बितिसक्दा पनि हत्यामा संलग्न भनिएका (सदन) भन्ने मेराज खानविरुद्ध मुद्दा चलाउन जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय बाँकेले जाहेरी नलिएको उनले बताइन्।
घटनास्थलमा रगतले लत्पतिएको अवस्थामा मेराजको सर्ट फेला परेको र त्यसैलाई आधार बनाएर जाहेरी दिन खोज्दा प्रहरीले ‘ठोस प्रमाण नपुगेको’ भन्दै जाहेरी लिन अस्वीकार गरेको रावियाको भनाइ छ।
उनका अनुसार घटनामा अफ्जल पठानको समेत संलग्नता देखिएको भन्दै उनी सम्पर्कमा नआएसम्म जाहेरी लिन नमिल्ने जवाफ प्रहरीले दिएको थियो। दुई वर्षपछि भारतबाट अफ्जललाई पक्राउ गरी ल्याएपछि भने प्रहरीले उनको नाममा मात्र जाहेरी दिन दबाब दिएको उनले बताइन्।
‘मेराजको नाममा पनि जाहेरी दिन खोज्दा प्रहरीले ठोस प्रमाण माग्यो,’ रावियाले भनिन्, ‘हत्यालगत्तै दिएको जाहेरी नै लिन नमानेपछि हामीले न्यायका लागि लामो समय संघर्ष गर्नुपर्यो।’
मृतकका काका फज्लुर रहेमानले अरबीको अमानवीय र विभत्स तरिकाले हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरे। ‘यस्तो क्रूर हत्याको घटनामा मेराजको नाममा जाहेरीसमेत नलिनुले प्रहरीको भूमिकामाथि नै गम्भीर प्रश्न उठेको छ,’ उनले भने।
रहेमानका अनुसार २०८० चैतमा भएको घटनाको करिब दुई वर्षपछि प्रहरीले अफ्जलको नाममा मात्र जाहेरी दर्ता गर्न बाध्य पारेको थियो। त्यसपछि अफ्जललाई अदालतमा उपस्थित गराइएको थियो।
बाँके जिल्ला अदालतले अनुसन्धानका लागि अफ्जललाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले ठोस प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्न आदेश दिएको उनले बताए। अदालतको उक्त आदेशले आफूहरूलाई थप पीडा भएको उनको भनाइ छ।
विगतको सरकारले न्याय नदिएको गुनासो गर्दै रावियाले वर्तमान सरकारबाट भने न्याय पाउने आशामा काठमाडौंसम्म आएको बताइन्। उनले अरबीको हत्याको निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेकी छन्।










Discussion about this post