बर्दिया, कात्तिक २ गते ।
घरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारमा यस वर्ष दसैँको खुसी छैन । रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरू शोक र प्रतीक्षामा छन् ।
गत भदौ १० गते भोटेकोशी बाढीमा परेर एउटै गाउँका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु बेपत्ता भएका थिए । आफन्त फर्किने आशामा बसेका परिवारलाई दसैँले झन् पीडा थपेको छ ।
बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुले घरमा जमरा राखिए पनि दसैँ मनाउने जाँगर नभएको बताइन् । ‘दसैँ आएको छ, तर परिवारमा कुनै खुसी छैन,’ उनले भनिन् ।
त्यस्तै, सुरेश थारुकी श्रीमती रमिता थारु पनि श्रीमान् फर्किने आशामा दिनरात बिताइरहेकी छन् । ‘रातदिन श्रीमान्कै प्रतीक्षामा छु । उहाँलाई सम्झेर दसैँ कसरी मनाउने ?’ उनले भनिन् । दुःखका कारण यस वर्ष टीका नलगाई दसैँ बिताउने उनको भनाइ छ ।
राजापुर नगरपालिका–९ तिनघरवामा ७५ परिवार बसोबास गर्छन् । विगतमा दसैँमा गाउँ फर्किने आफन्तले चहलपहल बढाउँथे । तर यस वर्ष बाढीको पीडाले गाउँ नै शोकमा छ । गाउँका बरघर बरुण थारुका अनुसार यस वर्ष गाउँमा दसैँको रौनक छैन । ‘दसैँ आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,’ उनले भने ।
बाढीमा बेपत्ता भएकाका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्नसमेत आर्थिक समस्या भएको रमिताले बताइन् । स्थानीय सरकारले किरियाखर्च दिने आश्वासन दिए पनि सहयोग नपाएको उनको भनाइ छ ।
राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार बेपत्ता व्यक्तिलाई सरकारले मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । मृत घोषणा भएमा स्थानीय सरकारले काजकिरियाका लागि ५० हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने उनले बताए ।
बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले भाइ काममा गएको ज्यालासमेत नपाएको बताए । कामदार लैजाने ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट नभएको उनले बताए । बेपत्ता परिवारलाई राहत र बाँकी ज्याला दिलाउन प्रभावकारी पहल नभएको उनको गुनासो छ ।
भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन् । बर्दियाबाट मात्रै ७६ जना बेपत्ता रहेको जनाइएको छ ।










Discussion about this post