बाँके, कात्तिक ३ गते ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसहित बाटिका निर्माण गरिने भएको छ। बैजनाथ गाउँपालिकाले कोइरालाको सम्मानमा शालिक र बाटिका निर्माण गर्न चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा १० लाख रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत शालिक र बाटिका निर्माणका लागि बजेट छुट्याइएको हो। चालु आर्थिक वर्षभित्रै निर्माणसम्बन्धी बजेट कार्यान्वयन गरिने उनले बताए।
“हाम्रै बाँके निवासी संविधानका पिता एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको योगदान अविस्मरणीय छ। उहाँको सम्मानमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको परिसरमा शालिक र बाटिका निर्माण गर्न बजेट विनियोजन गरेका हौँ,” अध्यक्ष शाहीले भने।
सादगी जीवनशैलीका कारण परिचित कोइरालाले राष्ट्र र संविधान निर्माणमा पु¥याएको योगदानको स्मरण गर्दै गाउँपालिकाले सम्मानस्वरूप उक्त योजना अघि बढाएको शाहीले बताए।
खजुरामा क्यान्सर अस्पताल सञ्चालनमा आएपछि बाँकेसहित पश्चिम क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा क्यान्सरको उपचार सेवा पाउँदै आएका छन्। अस्पताल परिसरमा शालिक र बाटिका निर्माण भएपछि कोइरालाको योगदानलाई स्मरण गर्ने स्थलसमेत थपिनेछ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्ज–१० स्थित ट्राफिक चोक नजिकैको सुशील बाटिका परिसरमा कोइरालाको सम्मानमा अर्धकदको शालिक निर्माण गरेको छ।










Discussion about this post