बाँके, कात्तिक ४ गते।
धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा मुस्लिम समुदायका अगुवाहरूले पनि हिन्दु समुदायका मान्यजनबाट दसैँको टीका र जमरा लगाएर बडादसैँ मनाएका छन्। दुवै समुदायले एकअर्काका चाडपर्वमा सहभागी हुँदै आएको परम्परालाई निरन्तरता दिएर उनीहरूले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका हुन्।
नेपालगन्जमा हिन्दु समुदायका सदस्य मुस्लिमका चाडपर्वमा सहभागी हुने र मुस्लिम समुदायका सदस्य हिन्दुका चाडपर्वमा रमाउने परम्परा पुरानै हो। यही परम्पराअनुसार बुधबार मुस्लिम अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा लगाएर दसैँको खुसी साटासाट गरे।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा लगाएर दसैँ मनाएको बताए। दसैँ, तिहार, रक्षाबन्धन र होलीलगायत हिन्दु समुदायका चाडपर्व मिलेर मनाउने गरिएको उनले बताए।
त्यसैगरी, मुस्लिम समुदायका ईद, बकर इद, मोहर्रम र मोहम्मद डेलगायत पर्वमा हिन्दु समुदायका मान्यजनलाई निम्त्याएर सँगै खुसी साट्ने गरिएको मन्सुरीले बताए। नेपालगन्जमा दुवै समुदायले वर्षौंदेखि एकअर्काका चाडपर्व मिलेर मनाउँदै आएको उनको भनाइ छ।
मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष तथा पूर्ववडाध्यक्ष सफिक नद्दाफले पनि हिन्दु समुदायका आफन्त र मान्यजनबाट टीका–जमरा लगाए। उनले आफूभन्दा सानालाई टीका लगाइदिँदै आशीर्वादसमेत दिए।
दुवै समुदायका चाडपर्व सँगै मनाउँदा आत्मीयता बढ्नुका साथै खुसी पनि मिल्ने नद्दाफले बताए। हिन्दु समुदायका सदस्य मुस्लिमका चाडपर्वमा सहभागी हुने र मुस्लिम समुदायका सदस्य हिन्दुका चाडपर्वमा सहभागी हुने परम्परा नेपालगन्जको पहिचान बनिसकेको उनले बताए।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र मुस्लिम अगुवा हाजी रहमान मियाँले पनि हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा लगाएर आशीर्वाद लिएको बताए। सबै धर्म र समुदायका चाडपर्वलाई सम्मान गर्दै मिलेर मनाउने गरिएको उनीहरूको भनाइ छ।
हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले पनि नेपालगन्जमा एकअर्काका चाडपर्व मिलेर मनाउने परम्परा प्रशंसनीय रहेको बताए। आफू पनि मुस्लिम समुदायका पर्वमा उनीहरूको घरमै पुगेर सहभागी हुने गरेको उनले बताए।
यसैबीच, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई बुधबार बिहानै फोन गरेर दसैँको शुभकामना दिएका छन्। शारीरिक अशक्तताका कारण यसपटक प्रत्यक्ष भेटेर शुभकामना दिन नसके पनि फोनमार्फत शुभकामना व्यक्त गरेको मन्जरीले बताए।
नेपालगन्जमा दुवै समुदायका धार्मिक अगुवाले पनि केही वर्षयता एकअर्कालाई अँगालो मार्दै दसैँ, ईदलगायत चाडपर्वको शुभकामना आदानप्रदान गर्दै आएका छन्। धार्मिक विविधताबीच आपसी सम्मान, सद्भाव र सहअस्तित्वको अभ्यास गर्दै आएको नेपालगन्जको यो परम्पराले सामाजिक एकताको सन्देश दिँदै आएको छ।










Discussion about this post