बाँके, कात्तिक ५ गते ।
श्रम संस्कृति पार्टी बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनपछि बिहीबार नेपालगन्जमा सरसफाइ अभियान सञ्चालन गरेको छ।
पार्टीका नेता तथा कार्यकर्ताले विपि चोकदेखी धम्बोजी चोक, सेतुबिक चोक, त्रिवेणी मोड, घोसी टोल हुँदै आँखा अस्पताल क्षेत्रसम्म सडक सफा गरेका हुन्। उनीहरूले सडकमा जम्मा भएको फोहोर संकलन गर्नुका साथै झाडु लगाएर सार्वजनिक स्थलको सरसफाइ गरेका थिए।
सरसफाइ अभियानमा सहभागी पार्टीका वरिष्ठ नेता मेराज अहमद (हिमालय) ले श्रम संस्कृति पार्टी कुनै जाति, धर्म वा समुदाय विशेषको नभई सबै देशभक्त नेपालीको साझा अभियान भएको बताए। देश निर्माणमा सरकारसँगै नागरिकको पनि जिम्मेवारी हुने उनको भनाइ छ।
‘देश बनाउने जिम्मेवारी सरकारको मात्र होइन, प्रत्येक नागरिकको पनि हो,’ उनले भने, ‘भाषणमा मात्र सीमित नभई श्रमदान र जनसेवामा पनि जुट्नुपर्छ।’
उनले हर्क साम्पाङले अघि बढाएको श्रमदान अभियानको मुख्य उद्देश्य श्रमको सम्मान र जनसहभागितामार्फत परिवर्तन ल्याउनु रहेको बताए। आफ्नो गाउँ, टोल र सहर सफा राख्न नागरिक आफैँ सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
पार्टीका जिल्ला उपाध्यक्ष मो. रहिस हलवाईले मूर्ति विसर्जनपछि गरिएको सरसफाइले सार्वजनिक स्थल सफा राख्नुपर्ने सन्देश दिएको बताए। धार्मिक तथा सांस्कृतिक पर्वका क्रममा हुने गतिविधिपछि फोहोर व्यवस्थापन गर्नु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे।
‘सामाजिक सद्भाव कायम राख्दै आफ्नो सहर सफा राख्नु सबै नागरिकको दायित्व हो,’ उनले भने।
नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनपछि गरिएको सरसफाइ अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा श्रमदाताहरू सहभागी थिए। उनीहरूले सडकमा रहेको फोहोर संकलन तथा व्यवस्थापन गर्दै सार्वजनिक स्थल सफा गरेका थिए।
कार्यक्रममा प्रस्तावित केन्द्रीय सदस्यद्वय राजन राना मगर र कस्मिरा खातुन, अगुवा श्रमदाता हाजी चाँद खाँ, मेराज अहमद (हिमालय), असलम अन्सारी, लुम्बिनी प्रदेश समिति सदस्य उषा गौतम, सीता बन्जाडे र निर्मला खत्रीलगायत सहभागी थिए।
त्यस्तै, जिल्ला उपाध्यक्षद्वय मो. रहिस हलवाई र मेघराज सुनार, जिल्ला सचिव दण्डप्रसाद शर्मा, जिल्ला संगठन विभाग प्रमुख गगनसिंह थापा, जिल्ला सदस्य उमा थापा, शान्ति डाँगी, सोयब इद्रिसी, सम्सुल्ला सल्मानी, राजु राई, नगर श्रम संयोजक इम्तियाज राई, रुद्र सापकोटा, सकिला खान, कपिल खड्का, साहिन शेष, रुबी बानो रंगरेज र मञ्जु वैश्यलगायत अभियानमा सहभागी थिए।
श्रम संस्कृति पार्टीले श्रमदान र जनसहभागितामार्फत सार्वजनिक स्थलको सरसफाइ तथा सामाजिक सेवाका कामलाई प्राथमिकता दिँदै आएको जनाएको छ।










Discussion about this post