बाँके फागुन ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्या भएको यहि चैतमा दुई वर्ष पुग्दैछ । उनका घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको थियो । उनको १८ चैत, २०८० मा इट्टा भट्ठा नजिकै घाँटी रेटेर हत्या भएपछि परिवारका सदस्यले हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष हारगुहार गरे । महिनौँसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा धाए । राजनीतिक दलका नेता र अगुवासँग हारगुहार गरे । हत्याराको नाममा किटानी जाहेरीसमेत दिए । अरवी खाँको हत्यारा अहिलेसम्म पक्राउ पर्न नसक्दा परिवारमा निराशा र आक्रोश बढेको छ ।
दुई वर्षसम्म हत्यारा पक्राउ पर्न नसकेपछि पीडामाथि पीडा थपिएको अरवी खाँका काका अब्दुल रहमान खाँले बताए । ‘हत्यामा संलग्न भएको ब्यक्ति पक्राउ परेको भए हामीलाई ठूलो राहत मिल्ने थियो,’ उनले भने ।
अरबी खाँको हत्या भएको दुई वर्ष बित्न लाग्दासमेत मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै परिवार र स्थानीयवासी चिन्तित भएका छन् । पीडित परिवारले घटनामा सुरुदेखि नै राजनीतिक दबाब परेको आरोप लगाउँदै आएका छन् । ‘हामीले किटानी जाहेरी दियौँ, तर प्रहरीले अपेक्षा अनुसार अनुसन्धान गर्न सकेन,’ उनले भने ।
घटनामा स्थानीय मेराज खाँको संलग्नता भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिए । प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर प्रमाण नपुगेको भन्दै मुक्त गरेको थियो । तर, प्रहरीले छाड्ने वित्तिकै मेराज खाँ फरार भए । ‘मेराज घटनामा संलग्न नभएको भए किन फरार भए,’ अरवीका काका खब्दुल रहमानले भने ।
घटनास्थलबाट सर्ट फेला परेको थियो । उक्त कपडा मेराजको भएको अरवी खाँका आफन्तले दावी गर्दै आएका छन् । रगतले लत्पतिएको उक्त कपडा मेराजको हो भन्नेमा कुनै आशंका छैन,’ उनले भने ।
पीडित परिवारका अनुसार मेराज भारतमा बस्दै आएका छन् । उनी अहिले पनि सामाजिक सञ्जालमा सक्रिय रहेको र एक राजनीतिक नेताको प्रचारप्रसारमा संलग्न देखिएको परिवारका सदस्यले जिकिर गरेका छन् । ‘यसले घटनामा राजनीतिक संरक्षण रहेको आशंकालाई पुष्टि गरेको छ,’ उनले भने ।
परिवार र स्थानीयले अपराधीलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गर्न माग गर्दै नेपालगन्जमा प्रदर्शन समेत गरेका थिए । तर, आन्दोलनपछि पनि अनुसन्धानमा खासै प्रगति नभएको उनीहरूको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भने घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ । फरार अभियुक्त भारतमा रहेको अनुसन्धानबाट खुलेको बाँके प्रहरीले जनाएको छ । घटनाको छानविन गर्न सिआइवीको टोलीसमेत आएर अनुसन्धान गरेको थियो । अनुसन्धान गरि सिआइवीले बाँके प्रहरीलाई प्रतिवेदनसमेत बुझाएको छ । ‘यो फौजदारी अपराध हो । बाँके प्रहरीले अहिले पनि अनुसन्धान र खोजतलास गरिरहेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘अपराधि भारतमा लुकेर बसेको भन्ने जानकारी छ । भारतबाट पक्राउ गरि ल्याउन समस्या भएको छ ।’













Discussion about this post