बाँके चैत १८ गते।
नेपालगन्जमा स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिबल आयोजना गरिने भएको छ। होटल व्यवसायी संघ, बाँके र होटल संघ, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ देखि १३ गतेसम्म फेस्टिबल सञ्चालन हुने जनाइएको छ।
होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भीमलाल कँडेलका अनुसार फेस्टिबलको उद्देश्य नेपालगन्जमा पर्यटन प्रवर्द्धन गर्नु, धार्मिक स्थलहरूको प्रचार–प्रसार गर्नु, स्थानीय परिकारको पहिचान स्थापित गर्नु तथा होटल व्यवसायको विकासमा टेवा पुर्याउनु हो। साथै, छिमेकी राष्ट्र भारतको नाकाबाट बढीभन्दा बढी पर्यटक भित्र्याई जिल्ला तथा नगरको व्यापारलाई चलायमान बनाउने लक्ष्य राखिएको उनले बताए।
फेस्टिबलमा स्थानीय स्वादिष्ट स्ट्रिट फुड, परम्परागत तथा आधुनिक खानाका विविध परिकार र पेय पदार्थको प्रदर्शनीसँगै कला–संस्कृति झल्काउने तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिने जनाइएको छ।
होटल संघ, बाँकेका अध्यक्ष दिवाकर खनालले नेपालगन्जलाई फुड फेस्टिबलको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न २५१ सदस्यीय मूल आयोजक समिति तथा १७ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ।













Discussion about this post