काठमाडौं चैत १८ गते ।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउन सरकारसँग आग्रह गरेका छन्। तल्लो तहका कर्मचारीहरूलाई वर्तमान तलब–सुविधाबाट जीविकोपार्जन गर्न कठिन भइरहेको र त्यसका कारण जागिर छाड्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले सेवा–सुविधा वृद्धि अपरिहार्य भएको बताए।
मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा आयोजित निरीक्षण कार्यक्रममा महानिरीक्षक अर्यालले संगठन सुदृढ बनाउन कर्मचारीको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार कर्मचारीका परिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्न सकिए विदेश जाने र जागिर छाड्ने क्रम घट्न सक्छ।
त्यस्तै, तल्लो दर्जाका कर्मचारीलाई सेवा अवधिभर क्रमशः पदोन्नति गर्दै जुनियर अधिकृतसम्म पुग्ने व्यवस्था गर्न सके कार्यक्षेत्रमा खटिने जनशक्तिको मनोबल उच्च रहने उनले बताए। “जागिर होइन, सेवा हो भन्ने भावनाले काम गर्न प्रेरणा मिल्छ,” उनले उल्लेख गरे।
महानिरीक्षक अर्यालले अधिकारविनाको खटाइले अपेक्षित परिणाम दिन नसक्ने स्पष्ट पार्दै सशस्त्र प्रहरी बलको कार्यक्षमता अभिवृद्धिमा जोड दिए। उनले समयानुकूल संगठन सुदृढीकरणका लागि २०५८ सालका विशेष नियमावली परिमार्जन गरी सक्षम, प्रभावकारी र व्यवसायिक बनाउने प्रस्ताव अघि सारिएको जानकारी दिए। साथै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आन्तरिक सुरक्षासम्बन्धी विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए।
उनले स्पष्ट नीति र निर्देशनको अभावमा कार्यक्षेत्रमा परिणाममुखी काम गर्न कठिनाइ भइरहेको पनि औँल्याए। चुनौतीपूर्ण परिस्थितिमा समेत सशस्त्र प्रहरी नागरिकसँगै रहेको भावना कायम राख्दै काम गरिरहेको उनले बताए।
कार्यक्रममा गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको सेवा–सुविधा सुधार तथा संगठन सुदृढीकरणका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।













Discussion about this post