बाँके, भदौ १८ गते ।
लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्षमा बाँकेमा सञ्चालन गरेका ११६ वटा पूर्वाधार विकासका योजना सम्पन्न गरेको छ।
सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहले गत आर्थिक वर्षमा तीन वटा ठूला बहुवर्षीय पुलसहित ११६ योजना सम्पन्न भएको बताए।
उनका अनुसार नेपालगन्ज–जानकी सडकअन्तर्गत चल्तुवा किरण नाला पुल, खजुराको सिमलघारी–गिजरा–उढरापुर सडकअन्तर्गत जेठीनाला पुल र राप्ती सोनारी–९ को अग्र्यानिक टोल–तल्लो खैरेनी सडकअन्तर्गत गेरुवा खोला पुल निर्माण सम्पन्न भएका छन्।
गत आवमा सडक निर्माणसँग सम्बन्धित अधिकांश योजना सम्पन्न भएका थिए। निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण केही योजना भने समयमै पूरा हुन नसकेको शाहले बताए।
कार्यालयका अनुसार गत आवमा बाँकेका आठ योजना दोहोरो, सात न्यून बजेटका, चार पुल डिपिआरविहीन, तीन वन क्षेत्रका र तीन कार्यप्रकृतिसँग नमिल्ने योजना थिए। बैजनाथ–७ पेडारी भकारीमा पुल नै नभएको ठाउँमा पुल मर्मतका लागि बजेट विनियोजन भएकोसमेत पाइएको थियो।
चालु आर्थिक वर्ष २०८३/८४ मा बाँकेमा २०० वटा योजना कार्यान्वयनका लागि ६० करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
कार्यालयले जिल्लाका आठ स्थानीय तहमा प्राविधिक खटाएर योजनाको लागत अनुमान तयार गर्न थालेको शाहले बताए। उनका अनुसार गत आवका अधुरा योजना चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रदेश सरकारले चालु आवमा ग्रामीण सडक विकासलाई प्राथमिकता दिएको छ। लागत अनुमान तयार भएपछि केही दिनमै योजनाको बोलपत्र आह्वान गरिने शाहले बताए।











Discussion about this post