बाँके, कात्तिक ६ गते ।
बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय सन्दीप चौधरी छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चौधरीले सोही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा विवादका क्रममा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएका थिए।
प्रहरीका अनुसार चौधरी र थारुबीच विवाद भएको थियो। विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई मार्ने धम्की दिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए।
उनका अनुसार चौधरीको साथबाट एक थान एयर पेस्तोल बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post