जुम्ला, कात्तिक ६ गते ।
जुम्लाबाट यस वर्ष हालसम्म ७ हजार ३३० मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। यसबाट करिब ५५ करोड रुपियाँको कारोबार भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ। गत वर्षको तुलनामा उत्पादन केही घट्ने अनुमान गरिएको छ। किसानले बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपियाँमा स्याउ बिक्री गरेका छन्।
जुम्लामा चार हजार ६०५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य कार्यालयको छ। जिल्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन्।
भारतबाट आउने स्याउको आयात बन्द भएपछि जुम्लाको स्याउले राम्रो बजार पाएको व्यापारीले बताएका छन्। हिमा गाउँपालिकाकी स्याउ व्यापारी माया रोकायाले जुम्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिए ।
व्यापारीले केही स्याउ कोल्ड स्टोर र घरमा भण्डारण गरेकाले निर्यात तथा कारोबारको रकम अझै बढ्न सक्ने कार्यालयको अनुमान छ।











Discussion about this post