बाँके कात्तिक ७ गते ।
जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रुपमा परिचित नेपालगञ्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुको तीन महिनामै ११८ प्रतिशतले वृद्धि भएकोे छ ।
आर्थिक वर्ष २०८२–०८३ को साउन, भदौ र असोज महिनामा मात्रै यो नाकाबाट जडिबुटी निर्यात ११८ प्रतिशतले वृद्धि भई यस वर्ष जडिबुटीको निर्यात धेरै राम्रो हुने सङ्केत गरेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
तीन महिनामा मात्रै पाँच लाख किलोभन्दा बढि जडिबुटी निर्यात भएपछि यस क्षेत्रका व्यवसायीहरु उत्साहित भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।
उनले चालु आर्थिक वर्षको तीन महिनामा १५ करोड २२ लाख ४० हजार रुपैयाँको पाँच लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात भएको जनाउँदै गत आवको सोही अवधीमा छ करोड ९९ लाख ४४ हजार रुपैयाँको तीन लाख ५९ हजार ६६० किलो जडिबुटी निर्यात भएको बताए ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको शुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमै जडिबुटी निर्यातमा देखिएको उत्साहजनक वृद्धिले यस क्षेत्रका व्यवसायी, किसान र सङ्कलक सबै उत्साहित बनेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए ।
उनका अनुसार विगत केही वर्षमा विभिन्न कारणले घट्दै गएको जडिबुटीको निर्यात यस वर्षबाट राम्रो तरिकाले वृद्धि हुन थालेपछि यसबाट देशको आर्थिक अवस्थामा समेत सुधार हुने बताए ।
जडिबटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहात महसुस भएको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताए ।
उनले आर्थिक वर्षको सुरुमै भारतलगायतका देशहरुबाट जडिबुटीलगायतको माग बढ्दै गएको देखिएकाले अझै निर्यात वृद्धि हुँदै जाने अनुमान गरिएको बताए ।













Discussion about this post