बाँके, कात्तिक २ गते ।
नेपालगन्जको सुरक्षा निगरानी प्रभावकारी बनाउन समाजसेवी तथा शिक्षाविद् विकास बहादुर सिंहले वडा प्रहरी कार्यालय नेपालगन्जलाई ड्रोन क्यामेरा सहयोग गरेका छन्। चाडपर्वको भीडभाड, धार्मिक र्याली, जुलुस तथा आन्दोलनका बेला सुरक्षा निगरानी गर्न ड्रोन उपयोगी हुने प्रहरीले जनाएको छ।
गोल्डेन एबिसी एकेडेमी बाँके हाई स्कुलका संस्थापक प्रबन्ध निर्देशक सिंहले आइतबार वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालाई एक थान ड्रोन क्यामेरा हस्तान्तरण गरेका हुन्।
सिंहले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको भए पनि त्यसमा नागरिकको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए। उनले प्रविधिको प्रयोगले प्रहरीको निगरानी क्षमता बढाउनुका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताए।
ड्रोन क्यामेरा ग्रहण गर्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन र नियमित गस्तीमा ड्रोन उपयोगी हुने बताए। उनले धार्मिक र्याली, जुलुस तथा आन्दोलनका बेला माथिबाट निगरानी गर्न सकिने भएकाले सम्भावित सुरक्षा जोखिम पहिचान गर्न र आवश्यकताअनुसार प्रहरी परिचालन गर्न सहज हुने बताए।
नेपालगन्जका साँघुरा गल्ली र घना बस्तीमा सुरक्षा निगरानी गर्न पनि ड्रोनले सहयोग पुग्ने खड्काले बताए। उनले प्रविधिको प्रयोगबाट शंकास्पद गतिविधि पहिचान गर्न र सम्भावित आपराधिक घटना नियन्त्रण गर्न सहज हुने बताए।
स्थानीय इरफान अहमद सिद्दिकीले पनि सिंहको पहलको प्रशंसा गरेका छन्। उनले स्थानीय सुरक्षाका लागि प्रहरीलाई प्रविधि सहयोग गर्नु सकारात्मक कदम भएको बताए। चाडपर्व र सार्वजनिक कार्यक्रमका बेला हुने भीडभाड व्यवस्थापनमा ड्रोनले सहयोग पुग्ने बताउँदै सिद्दिकीले यस्ता कामले प्रहरी र नागरिकबीचको सम्बन्ध बलियो बनाउने बताए।
उनले विकास बहादुर सिंहको कदम उदाहरणीय भएको बताउँदै अन्य व्यक्ति तथा संस्थाले पनि समुदायको हितमा सहयोग गर्नुपर्ने बताए।
ड्रोन क्यामेरा सहयोगमा गोल्डेन एबिसी एकेडेमी बाँके हाई स्कुल परिवारको पनि सहभागिता रहेको छ। विद्यालयका संस्थापक प्रबन्ध निर्देशक सिंहको नेतृत्वमा प्रिन्सिपल मधुसिंह खत्रीलगायत विद्यालय परिवार सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएको छ।
यसअघि विद्यालय परिवारले वडा प्रहरी कार्यालय नेपालगन्जलाई दुई थान स्ट्यान्ड फ्यानलगायत सामग्री सहयोग गरेको थियो। पछिल्लो सहयोगले प्रहरीको सुरक्षा निगरानीमा प्रविधिको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय युवाहरूको समेत सहभागिता रहेको कार्यक्रममा प्रहरी र समुदायबीचको सहकार्यबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिइएको थियो।










Discussion about this post