बाँके कात्तिक १३ गते ।
वडा प्रहरी कार्यालय नेपालगन्जले पछिल्ला १४ महिनामा उल्लेखनीय सफलता हासिल गरेको छ । भन्सार छलि, लागुऔषध, चोरी, फरार अपराधी नियन्त्रणदेखि सामाजिक सद्भाव कायम गर्नेसम्मका गतिविधिले प्रहरीको जनमुखी सेवाप्रतिको छवि झन् मजबुत बनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमका अनुसार सो अवधिमा ६९ लाख ८८ हजार चार सय एकसठी रुपियाँ बराबरको भन्सार छलिका सामान बरामद गरिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका ती सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको हो ।
अवैध सामान ओसारपसारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ भने उक्त काममा प्रयोग भएका दुई वटा मोटरसाइकल समेत बरामद गरी भन्सारमा बुझाइएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
उनका अनुसार तीन लाख ८८ हजार दुई सय भारतीय रुपियाँसहित एकजनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । अदालतबाट फैसला भई फरार रहेका १९ जनालाई पक्राउ गरी पाँच वर्ष एक महिना २९ दिन कैद भुक्तान तथा रु १ लाख ६२ हजार २५० असुल गरिएको छ ।
त्यसैगरी, चेक अनादर, मोटरसाइकल चोरी, सार्वजनिक अपराध र नकवजनी चोरी मुद्दामा फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए । नेपालगन्ज र आसपासका क्षेत्रमा चोरी भएका १६ वटा मोटरसाइकल र ८ वटा मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । यसले चोरी नियन्त्रणमा प्रहरीको तत्परताको प्रमाण दिएको स्थानीयहरूले बताएका छन् ।
पछिल्ला १४ महिनामा प्रहरी टोलीले ३७५.४०१ ग्राम ब्राउनसुगर र अन्य लागुऔषधसहित १४ जनालाई पक्राउ गरी माथिल्लो निकायमा पठाएको छ । त्यस्तै, रु २ लाख ५१ हजार सात सय ९८ सहित ३६ जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको छ ।
चाडपर्वको समयमा पड्काउने रु ४ लाख बराबरका पटका बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक बमले जानकारी दिए । ‘जेन जी आन्दोलन’का क्रममा विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका ८ जना थुनुवा तथा कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ ।
साथै, २० जना बालबालिका र जेष्ठ नागरिकको उद्धार गरी सुरक्षाको दायरामा ल्याइएको छ ।
गत १४ महिनामा कार्यालयमा ७०६ वटा ठाडो उजुरी दर्ता भएकोमा ५५७ वटा फच्र्यौट भएका छन् । ८८ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने ६१ उजुरीकर्तासँग सम्पर्क हुन सकेको छैन ।
त्यस्तै, घरेलु हिंसा सम्बन्धी २९ वटा निवेदन मध्ये २७ वटा फच्र्यौट भएको, एक तालुक कार्यालयमा पठाइएको र एकजनासँग सम्पर्क हुन नसकेको बमले जानकारी दिए ।
प्रहरी निरीक्षक बमको कार्यकालमा नेपालगन्जमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनेको स्थानीय वडाबासीको भनाइ छ ।
नेपालगन्ज–४ का समाजसेवी मेराज हल्वाई (हिमालय)का अनुसार बमले ईद, मोहर्रम, बक्र ईद, दसैँ, तिहार, होली, छठ जस्ता पर्वहरूमा सुरक्षा संयोजनमा विशेष भूमिका खेलेका थिए ।
“वडा प्रहरी कार्यालयले धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा तटस्थ र संवेदनशील भूमिका खेलेको कारण नगरमा शान्ति, सद्भाव र सुरक्षाको माहोल कायम भएको छ,” हिमालयले भने । प्रहरी निरीक्षक अरुण बमको उत्कृष्ट कार्यप्रति स्थानीयहरूले आभार प्रकट गरेका छन् ।
बुधवार आयोजित कार्यक्रममा उनको विधिवत् विदाई गरिएको हो । वडाबासीहरूले भने, “उनको कार्यकालमा शान्ति, सुरक्षा र जनविश्वास दुवै कायम रह्यो ।”
नेपालगन्जका प्रहरी निरीक्षक बमको १४ महिनाको कार्यकालमा अवैध कारोबार नियन्त्रणदेखि सामाजिक शान्ति स्थापना सम्मका उपलब्धिहरूले प्रहरी सेवाको नयाँ पहिचान बनाएको छ — जसले नेपालगन्जलाई सुरक्षित, व्यवस्थित र सद्भावपूर्ण सहरको दिशामा अघि बढाएको छ ।













Discussion about this post