बाँके चैत २३ गते ।
लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलात्कारपछि हत्या गर्ने अपराधीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न माग गरेकी छन्। उनले यस्तो दण्डको माग गर्दा मानवअधिकारका प्रश्न उठ्न सक्ने भए पनि गम्भीर अपराध नियन्त्रणका लागि कठोर कानुन आवश्यक रहेको बताइन्।
सोमबार बसेको लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको छैटौँ बैठकमा धारणा राख्दै काफ्लेले देशभर बढिरहेका जघन्य अपराध नियन्त्रण र बालिकाको सुरक्षा सुनिश्चित गर्न कडा कानुनी व्यवस्था अपरिहार्य भएको उल्लेख गरिन्।
सुर्खेत र बाँकेसहित विभिन्न स्थानमा भएका बलात्कारपछि हत्या घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले यस्ता अपराधीलाई उन्मुक्ति दिँदा समाजलाई कुनै लाभ नहुने बताइन्।
उनले भनिन्, “बलात्कारपछि हत्या जस्तो जघन्य अपराध बढ्दो क्रममा छ। महिलाहरू कहिलेसम्म असुरक्षित भएर बस्ने? नाबालिका भएकै कारण बलात्कृत भएर हत्या हुनु सामान्य विषय होइन। यस्ता अपराध नियन्त्रणका लागि कानुन कठोर हुनैपर्छ।”
काफ्लेले नाबालिकामाथि बलात्कारपछि हत्या गर्ने अपराधीलाई जोगाउनुको कुनै औचित्य नरहेको बताउँदै मुलुकी अपराध संहिता संशोधन गरी मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरिन्। उनले अधिकारको बहानामा यस्ता अपराधलाई सहन नहुने पनि उल्लेख गरिन्।
यसै क्रममा उनले संघीय सरकारले संघीयतालाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिइन्। साथै, कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्न पनि माग गरिन्।
स्वास्थ्य क्षेत्रतर्फ ध्यानाकर्षण गराउँदै उनले नेपालगन्जस्थित भेरी अस्पतालमा लामो समयदेखि बन्द अवस्थामा रहेका सिटी स्क्यान र डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याउन, रिक्त दरबन्दीमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न तथा उपकरण सञ्चालनमा समस्या किन भइरहेको हो भन्ने विषयमा छानबिन गर्न विशेष समिति गठन गर्न माग गरिन्।
त्यसैगरी, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सुरु हुन नसक्नुका कारणबारे छानबिन गर्न र लापरबाही गर्ने ठेकेदारमाथि कारबाही गर्न उनले सरकारसँग माग गरिन्।










Discussion about this post