काठमाडौं चैत २४ गते।
काठमाडौं महानगरपालिका–९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ किलो ५० ग्रामसहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत, बिहार राज्य मधुबनीका ३५ वर्षीय अनिल कुमार पासवान र ४५ वर्षीय मोहमद हसन रैन रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं तथा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ स्थित होटल श्रीयन्त्रको कोठा नम्बर १०३ बाट मोहमदलाई नियन्त्रणमा लिएको हो।
सो क्रममा अनिल भने फरार भएका थिए। पछि उनलाई सोही क्षेत्रस्थित होटल शिवम् प्लाजाको पार्किङबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।
गोली लागेर घाइते भएका अनिलको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०६ डिएम ७३४६ नम्बरको सवारी साधन पनि बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।











Discussion about this post