बाँके चैत २६ गते ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माण कार्य हाल तीव्र गतिमा अघि बढाइएको छ। विभिन्न प्राविधिक तथा कानुनी समस्याका कारण लामो समयदेखि अवरुद्ध रहेको निर्माण कार्य पुनः सुरु भएपछि स्थानीय किसानमा उत्साह बढेको छ।
सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार नहर निर्माणमा अवरोध बनेका विद्युत पोल, भूमिगत केबल तथा खानेपानी पाइप व्यवस्थापन गर्दै कामलाई तीव्रता दिइएको छ। उनका अनुसार २३.४ किलोमिटर लामो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन्।
विगतमा ठेक्का विवादका कारण निर्माण कार्य लामो समय रोकिएको थियो। पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत ठेक्का प्रदान गरिएपछि निर्माण कार्य पुनः तीव्र बनाइएको इन्जिनियर विष्टले जानकारी दिए। नेपालगन्ज–सुर्खेत सडक खण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा निर्माण हुनेछ।
रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले करिब एक अर्ब १२ करोड रुपैयाँको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ। कम्पनीका अनुसार हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ भने असार मसान्तसम्म ४० प्रतिशत प्रगति पु¥याउने लक्ष्य राखिएको छ।
यता, आयोजनाका प्रमुख राजु आचार्यले सम्बन्धित निकायसँग समन्वय गरी निर्माणमा देखिएका अवरोध हटाउँदै कामलाई निरन्तरता दिइएको बताए। नहर निर्माण सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको छ। यसबाट कृषि उत्पादन वृद्धि हुने विश्वास गरिएको आयोजना प्रमुख आचार्यले बताए।












Discussion about this post