बाँके चैत २८ गते ।
नेपालगन्जमा डाक्टर, स्टाफ नर्स तथा औषधि व्यवसायीसहित ३१० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शनिबार रास्वपा बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरू औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्।
रास्वपाका अनुसार डा. प्रतीक श्रेष्ठको नेतृत्वमा सुमन गिरी श्रेष्ठ, किरण कुमार श्रेष्ठ, सौरभ कर्माचार्यलगायत स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीहरू पार्टीमा प्रवेश गरेका हुन्।
डा. श्रेष्ठ डेन्टल सर्जन हुनुका साथै अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनले सन् २०२३ मा भएको स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट स्वर्ण पदक जितेका थिए।
पार्टी प्रवेशपछि बोल्दै डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधारका काम गर्न बाँकी रहेकाले सबै स्वास्थ्यकर्मी एकजुट भएर समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा लाग्ने उद्देश्यसहित आफूहरू रास्वपामा आबद्ध भएको बताए।
उनले अब अरूले गरिदेला भन्ने आशा गर्ने समय सकिएको उल्लेख गर्दै आफूहरू स्वयं अग्रसर भएर समाज र देशका लागि काम गर्ने प्रतिबद्धता जनाए। साथै, आफ्नो समूहको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले स्वास्थ्य क्षेत्रसँग आबद्ध दक्ष जनशक्तिको पार्टी प्रवेशले संगठनलाई गुणात्मक रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले देशमा सुशासन, पारदर्शिता र विकासका लागि अब सक्षम र सचेत नागरिकहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
प्रमुख अतिथि पाठकले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै देशको रूपान्तरणका लागि नयाँ सोच, इमान्दार नेतृत्व र प्रतिबद्ध कार्यशैली आवश्यक रहेको धारणा राखे। उनले रास्वपाले अघि सारेको सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको अभियानमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरे।
कार्यक्रमको अध्यक्षता रास्वपा नेपालगन्ज नगर अध्यक्ष नबिल खड्काले गरेका थिए। कार्यक्रममा सहभागीहरूले स्वास्थ्य क्षेत्र सुधार, सुशासन स्थापना र विकासका एजेन्डामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।










Discussion about this post