बाँके, भदौ २४ गते ।
मौसम परिवर्तनसँगै बाँकेमा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामी बढेका छन् । केही दिनअघिसम्म अत्यधिक गर्मी भएको र त्यसपछि वर्षा भएकाले स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको अस्पतालहरूले जनाएका छन् ।
भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालले पछिल्लो समय उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने र नाक पोल्नेजस्ता समस्या भएका बिरामी बढेको बताए ।
‘इमर्जेन्सीमा यस्ता बिरामीको संख्या धेरै छ,’ उनले भने, ‘ओपिडीमा पनि भाइरल फ्लुका बिरामीको संख्या बढेको छ ।’
भेरी अस्पतालमा अहिले बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा पनि भाइरल फ्लुका बिरामी बढेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवईले रुघाखोकी, ज्वरो र पखालाको समस्या भएका बिरामी उपचारका लागि आउने क्रम बढेको बताए ।
सुपर पोलिक्लिनिकका वरिष्ठ फिजिसियन डा. अल्ताफान राहीले अहिले देखिएको भाइरल ज्वरो कडा खालको रहेको बताए । उनका अनुसार कतिपय बिरामीलाई ज्वरो निको हुन सात दिनभन्दा बढी समय लाग्ने गरेको छ । उनले लक्षण देखिएपछि समयमै स्वास्थ्य परीक्षण र उपचार गराउन सुझाव दिए ।
नेपालगन्जका अन्य अस्पताल र निजी क्लिनिकमा पनि भाइरल सङ्क्रमणका बिरामी बढेका छन् । उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने र घाँटी दुख्ने समस्या भएका बिरामीको संख्या बढेको चिकित्सकहरूले बताएका छन् ।
मौसम परिवर्तनसँगै दूषित पानी र खानपानमा ध्यान नदिँदा पनि स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । उनीहरूले स्वच्छ पानी पिउन, खानपानमा ध्यान दिन र ज्वरो तथा अन्य लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गएर जाँच गराउन सुझाव दिएका छन् ।










Discussion about this post