बाँके, भदौ २४ गते ।
जेनजी आन्दोलनका क्रममा बाँकेका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका ३४० बालबन्दी तथा कैदीमध्ये १६९ जना अझै सम्पर्कविहीन छन्। उनीहरू भागेको एक वर्ष पूरा भइसके पनि सुरक्षा निकायले सबैलाई नियन्त्रणमा लिन सकेको छैन।
गत वर्ष भदौ २३ गते राति र २४ गते आन्दोलनका क्रममा नौबस्ता र जयन्दु बालसुधारगृह तथा नौबस्ता क्षेत्रीय कारागारबाट ३४० जना भागेका थिए। तीमध्ये एक वर्षको अवधिमा १७१ जना पक्राउ परेका छन्।
जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना पक्राउ परेका छन्। ४७ जना अझै सम्पर्कमा आएका छैनन्। सुधारगृहका प्रमुख किशोर शर्माका अनुसार केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने केही आफैँ सुधारगृहमा फर्किएका थिए।
नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना पक्राउ परेका छन्। ३१ जनाको भने अझै खोजी भइरहेको छ। सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार आन्दोलनका बेला त्यहाँ १७६ बालबन्दी थिए। प्रहरीसँगको झडपमा पाँच बालबन्दीको मृत्यु भएको उनले बताए।
सबैभन्दा धेरै फरार भने नौबस्ता क्षेत्रीय कारागारबाट छन्। त्यहाँबाट भागेका १४७ कैदीमध्ये ५६ जना पक्राउ परेका छन्। १८ जना विदेशी नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन रहेको कारागार प्रमुख दलबहादुर बस्नेतले बताए।
आन्दोलनका बेला नौबस्ता क्षेत्रीय कारागारमा ५८५ कैदी थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ। बाँकीको खोजी भइरहेको छ। सम्पर्कविहीनमध्ये धेरै जना भारततर्फ गएको हुन सक्ने प्रहरीको अनुमान छ।
जेनजी आन्दोलनका क्रममा बाँकेसहित देशका विभिन्न स्थानका कारागार तथा बालसुधारगृहबाट कैदीबन्दी भागेका थिए। नेपालगन्जस्थित जिल्ला कारागारबाट भने कैदीबन्दी भाग्न सकेनन्।
उनीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले कारागार घेराबन्दी गरेको थियो। त्यस क्रममा सेनाले गोली चलाउँदा कैलाली घर भएका एक कैदीको खुट्टामा गोली लागेको थियो।
एक वर्ष बित्दा पनि १६९ जना कहाँ छन् भन्ने प्रश्नको स्पष्ट जवाफ भने सुरक्षा निकायसँग छैन।











Discussion about this post