बाँके, भदौ २४ गते ।
बाँकेको नेपाल–भारत सीमावर्ती नाकाबाट भन्सार छली ठूलो परिमाणमा सामान भित्रिने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको सार्वजनिक सूचनाले देखाएपछि सीमा सुरक्षामाथि प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्ला दिनमा सार्वजनिक गरेका दुईवटा प्रेस विज्ञप्तिमा भन्सार छली ल्याइएका मोबाइल फोन, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, खाद्यान्न, मिठाई तथा पेय पदार्थलगायतका सामान बरामद गरिएको उल्लेख छ।
एउटा विज्ञप्तिअनुसार बिलबिजक तथा आवश्यक कागजात नभएका विभिन्न कम्पनीका १९ थान मोबाइल फोन बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ। अर्को विज्ञप्तिमा बरामद गरिएका विभिन्न सामानको अनुमानित मूल्य ४ लाख १५ हजार ८४० रुपैयाँ रहेको जनाइएको छ।
तर, बरामद भएका सामानको विवरणसँगै अर्को प्रश्न पनि उठेको छ—यी सामान सीमा पार गरेर नेपालगन्जसम्म कसरी आइपुगे?
सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमित उपस्थिति तथा चेकजाँच हुँदै आएको अवस्थामा भन्सार छलीका सामान पटक–पटक नेपाल प्रवेश गर्नुले सीमा निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको हो।
स्थानीयका अनुसार जमुनाह नाकाको पूर्व र पश्चिमतर्फका विभिन्न स्थानबाट अवैध बाटो प्रयोग गरी सामान भित्र्याउने क्रम लामो समयदेखि चल्दै आएको छ। प्रहरी स्रोतले पिप्रहवा, साइगाउँ र बढैयालाई समेत अवैध सामान ओसारपसारका सम्भावित ट्रान्जिटका रूपमा प्रयोग हुने गरेको बताएको छ।
सीमावर्ती क्षेत्रमा दैनिक आवतजावत गर्ने सर्वसाधारण भने नाकामा कडा जाँच र झन्झट खेप्नुपरेको गुनासो गर्छन्। भारतबाट एक–दुई किलो आलु, प्याज, तरकारी वा घरायसी प्रयोजनका सामान्य सामान ल्याउँदा समेत लामो समय केरकार र जाँच हुने गरेको उनीहरूको भनाइ छ।
तर, लाखौँ रुपैयाँ मूल्यका सामान भन्सार छली नेपाल प्रवेश गरेपछि मात्रै प्रहरीले नियन्त्रणमा लिने अवस्थाले नागरिकमा स्वाभाविक प्रश्न जन्माएको छ—कानुनको कार्यान्वयन सबैका लागि समान छ कि छैन?
स्थानीयको अर्को प्रश्न सीमा सुरक्षाको भूमिकामाथि छ। चोरीपैठारी नियन्त्रणका लागि सीमामा सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) तथा अन्य सुरक्षा संयन्त्र परिचालन गरिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुँदाहुँदै पनि तस्करीका सामान नेपालगन्जसम्म पुग्नुले निगरानी प्रणालीमा कमजोरी रहेको संकेत गर्ने उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार सीमाबाट भित्रिएको भनिएको सामान नेपालगन्ज क्षेत्रमा आएर नेपाल प्रहरीले बरामद गर्ने गरेको छ। यसले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको निगरानी प्रणाली र सम्भावित मिलेमतोबारे समेत प्रश्न उठाएको छ।
‘भारतबाट ल्याएको सामान नेपाल प्रहरीले नेपालगन्जमा बरामद गर्नुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउने ठाउँ दिएको छ,’ एक स्थानीयले भने, ‘बीओपी इन्चार्जदेखि तल्लो तहसम्मको संलग्नता छ कि छैन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्छ।’
त्यसैले बरामद भएका सामानको विवरण सार्वजनिक गर्नुका साथै ती सामान कहाँबाट आएका थिए, कुन बाटो हुँदै नेपाल प्रवेश गरेका थिए, कसले ल्याएका थिए र सीमा सुरक्षामा खटिएका निकायको भूमिका के थियो भन्ने विषयमा समेत अनुसन्धान आवश्यक देखिन्छ।
सीमामा हुने चोरीपैठारी नियन्त्रणको जिम्मेवारी एक निकायको मात्रै नभएर सम्बन्धित सबै सुरक्षा तथा भन्सार संयन्त्रको हो। नियमित रूपमा तस्करीका सामान बरामद भइरहँदा त्यसको मूल स्रोत र ओसारपसारमा संलग्न सञ्जालसम्म अनुसन्धान पुग्नुपर्ने स्थानीयको माग छ।
साना सामान ल्याउने सर्वसाधारणमाथि मात्रै कडाइ गरेर तस्करी नियन्त्रण नहुने भन्दै स्थानीयले ठूलो नेटवर्क पहिचान गरी त्यसमा संलग्न व्यक्ति तथा सम्भावित संरक्षण संयन्त्रमाथि समेत अनुसन्धान गर्न माग गरेका छन्।










Discussion about this post