बाँके, कात्तिक १ गते ।
बाँकेको डुडुवा गाउँपालिका–स्थित प्रहरी चौकी खडैचाको भौतिक अवस्था सुधार भएको छ। चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि अलपत्र जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा कायम भएको छ। त्यसपछि गाउँपालिकाको सहयोगमा जीर्ण भवनको मर्मत तथा रंगरोगन गरिएको छ।
स्थानीय समाजसेवी लच्छु अहिरले करिब ३० वर्षअघि प्रहरी चौकी निर्माणका लागि दुई कठ्ठा सात धुर जग्गा उपलब्ध गराएका थिए। तर, लामो समयसम्म उक्त जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा हस्तान्तरण हुन सकेको थिएन। जग्गाको स्वामित्व कायम नहुँदा भवन विस्तार तथा अन्य भौतिक संरचना निर्माणमा समेत समस्या हुँदै आएको थियो।
चौकीको जिम्मेवारी सम्हालेपछि असई विकले जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा ल्याउन पहल थाले। लामो प्रयासपछि जग्गाधनी पुर्जा प्राप्त भयो। त्यसपछि उनले जीर्ण अवस्थामा रहेको भवन मर्मत तथा रंगरोगनका लागि डुडुवा गाउँपालिकासँग सहयोग मागे। गाउँपालिकाको सहयोगमा मर्मत तथा रंगरोगनको काम सम्पन्न भएको छ।
विकका अनुसार प्रहरी चौकीको भौतिक संरचना व्यवस्थित बनाउने र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले काम अघि बढाइएको हो। भवन मर्मत तथा रंगरोगनपछि प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहज हुने र सेवाग्राहीलाई समेत सेवा लिन सजिलो हुने अपेक्षा गरिएको छ।
‘कार्यभार सम्हालेपछि जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा ल्याउन पहल थालेको थिएँ,’ विकले भने, ‘लामो प्रयासपछि जग्गाधनी पुर्जा प्राप्त भयो। त्यसपछि भवन मर्मत तथा रंगरोगनका लागि गाउँपालिकासँग सहयोग माग्यौँ।’
जग्गाको स्वामित्व कायम गराउनेदेखि भवन मर्मत तथा रंगरोगन सम्पन्न गराउनेसम्मका कामले खडैचा प्रहरी चौकीको पूर्वाधार सुधारमा टेवा पुगेको छ। चौकीको भौतिक अवस्था सुधार भएसँगै आगामी दिनमा प्रहरी सेवा थप व्यवस्थित बनाउन सहज हुने अपेक्षा गरिएको छ।











Discussion about this post