बाँके, कात्तिक ८ गते ।
बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका ग्रामीण क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीको आवागमन सहज भएको छ ।
बसको प्रतीक्षा गर्नुपर्ने र छोटो दूरीमा समेत पैदल हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन् । नेपालगन्ज–बघौडा हुलाकी सडक पक्की भएपछि नरैनापुरमा अटो रिक्सा सञ्चालन बढेको हो ।
नरैनापुर–५ जमुनीगाउँकी टीका बुढाथोकीका अनुसार बिहान र साँझ बस चले पनि अन्य समयमा यात्रुले सास्ती खेप्नुपर्ने अवस्था थियो । अहिले अटो रिक्साले गाउँबस्तीसम्मै पुग्न सहज भएको छ । नरैनापुर–६ का सोहनलाल यादवले अटोमा चढेर एक घण्टामै नेपालगन्ज पुग्न सकिने बताए ।
अटो रिक्साले गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयालगायत क्षेत्रमा यातायात सहज बनाएको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, विद्यार्थी तथा कर्मचारीलाई विशेष सुविधा पुगेको छ ।
राप्ती सोनारी–५ स्थित भुवर भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर विष्टका अनुसार पहिले एक घण्टा पैदल हिँड्नुपर्ने दूरी अहिले १५–२० मिनेटमै पुग्न सकिन्छ । नेपालगन्जको सल्यानीबागदेखि फत्तेपुर हुँदै अगैयासम्म पनि अटो रिक्सा सञ्चालन भइरहेका छन् ।
नरैनापुर–१ कटकुइँयाका अटोचालक जाकीर अलीले यातायात सेवा दिँदै गाउँमै आम्दानी गर्न थालेको बताए । उनका अनुसार चार सिट क्षमताको अटोमा सुइँया बघौडादेखि नेपालगन्जसम्म प्रतिव्यक्ति २५० रुपैयाँ र नरैनापुर गाउँपालिका केन्द्रदेखि २०० रुपैयाँ भाडा लाग्छ ।










Discussion about this post