बर्दिया, कात्तिक १० गते ।
दसैं बिदामा पर्यटकको आगमन बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका होटल तथा होमस्टेमा चहलपहल बढेको छ । ठाकुरद्वाराका अधिकांश होटल पर्यटकले भरिएका छन् भने जिप सफारीमा पनि भ्याइनभ्याइ छ ।
निकुञ्जका अनुसार कात्तिक १ देखि ६ गतेसम्म २ हजार १३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । तीमध्ये २७४ विदेशी र ७६ सार्क मुलुकका पर्यटक छन् । बाँकी आन्तरिक पर्यटक हुन् ।
गत असोजमा १ हजार ७० आन्तरिक, २४८ सार्क मुलुकका र ५५५ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
पर्यटकको चाप बढेपछि जिप सफारीका लागि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था आएको पर्यटन व्यवसायी रामजी थापाले बताए । सफारीका सबै सिट बुक हुँदा केही पर्यटकले निकुञ्ज अवलोकन गर्न नपाएको गुनासो गरेका छन् ।
पोखराबाट आएका अनिल न्यौपानेले जिप सफारी गर्न नपाउँदा निकुञ्ज घुम्न नपाएको बताए । पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले दसैंमा पर्यटक आगमन बढेकाले तिहारमा पनि चहलपहल बढ्ने अपेक्षा गरेका छन् ।
बाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्जमा ११२ वटा पाटे बाघ र ३८ वटा गैँडा छन् । निकुञ्जमा १२० भन्दा बढी हात्ती रहेको अनुमान छ । पर्यटकले जिप सफारी तथा पैदल यात्रा गर्दै बाघलगायत वन्यजन्तु अवलोकन गर्ने गरेका छन् ।
निकुञ्ज आसपासका करिब ३० होटलसँगै खाता जैविक मार्गमा पर्ने डल्ला होमस्टे पनि पर्यटकको रोजाइमा छ । त्यहाँ झन्डै २० वटा होमस्टे सञ्चालनमा छन् । पर्यटकले डल्ला, पत्थरबोझीलगायत क्षेत्रका साथै निकुञ्जभित्रको गोही तथा घडियाल प्रजनन केन्द्र र थारू संग्रहालय पनि अवलोकन गर्ने गरेका छन् ।










Discussion about this post