बाँके, कात्तिक ८ गते ।
बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये उपचारको पहुँचबाहिर रहनेको सङ्ख्या चुनौतीका रूपमा देखिएको छ। गत आर्थिक वर्षमा सङ्क्रमण पुष्टि भएका सय जनामध्ये २९ जना उपचारको पहुँचमा नआएको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले जनाएको छ।
फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलका अनुसार उपचारमा नआउने र उपचारकै क्रममा सम्पर्कविहीन हुने प्रवृत्तिले समुदायमा सङ्क्रमण नियन्त्रणमा चुनौती थपेको छ। उपचारको पहुँचबाहिर रहेका अधिकांश व्यक्ति नेपालगन्जका रहेको उनले बताए।
“सङ्क्रमण पुष्टि भइसकेपछि पनि उपचार नगर्नु हाम्रो लागि चुनौती बनेको छ,” पौडेलले भने, “यसले समुदायस्तरमा सङ्क्रमणको जोखिम बढाएको छ।”
उनका अनुसार समाजबाट हुने भेदभाव, लज्जा र डरका कारण केही सङ्क्रमित उपचारमा आउन चाहँदैनन्। सङ्क्रमितप्रतिको सामाजिक दृष्टिकोणमा सुधार हुँदै गए पनि सामाजिक डरका कारण उपचारबाट टाढा रहने समस्या कायमै रहेको उनले बताए।
भेरी अस्पतालमा एएचएफसँगको सहकार्यमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) केन्द्र सञ्चालनमा छ। अस्पतालका अनुसार हाल ६५८ जनाले नियमित एआरटी सेवा लिइरहेका छन्। सन् २०१७ मा सेवा सुरु हुँदा ३९० जनाले यो सेवा लिएका थिए। सेवा सुरु भएयता नौ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा. संकेतकुमार रिसालले नियमित उपचार र स्वास्थ्य सेवामा पहुँच विस्तार हुँदा एचआईभी सङ्क्रमित आमाबाबुबाट जन्मिएका स्वस्थ बच्चाको दर बढेको बताए।अस्पतालमा भाइरल लोड परीक्षण गर्ने मेसिनको अभावले सेवा प्रवाहमा चुनौती रहेको उनले बताए।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई उपचारमा जोड्न र उपचारका क्रममा सम्पर्कविहीन हुनेको सङ्ख्या घटाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताए।
एएचएफले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको परियोजनाअन्तर्गत आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा एचआईभी सङ्क्रमितको पहिचान, उपचारमा पहुँच र नियमित उपचारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।










Discussion about this post