बाँके असार १३ गते ।
बाँकेमा युरिया मल अभाव भएको छ। जिल्लाको खजुरा क्षेत्रका किसानले घण्टौ लाम बस्दा समेत मल पाउँदैनन्। युरिया मलका लागि गत केही दिनदेखि नै खजुरास्थित सहकारी संस्था लिमिटेडको कार्यालयमा धाए पनि मल नपाएको खजुरा–२ किसान तथा लुम्बिनी प्रदेशसभाका पूर्व सांसद आईपी खरेलले बताए ।
उनले बिहीबार मल वितरण हुने सुनेर बिहान आठ बजे नै सहकारीको कार्यालयमा लाम लागे पनि ११ बजेसम्म पालो नआएको र मल सकिएको थाहा पाएपछि आफू लगायत थुप्रै किसान निराश भएर फर्किएको बताए । गाउँपालिकाले ७० जना किसानलाई मल वितरण गर्ने टोकन मात्र दिएको तर मल लिन सहकारीमा दुई सय बढी किसान पुगेकाले आफूहरूको पालै नआएपछि बिहानैदेखि लाम लागे पनि निराश भएर फर्किएको खजुरा–३ का किसान भक्तबहादुर केसीले बताए ।
सहकारीमा एक हजार ५० रुपियाँमा पाइने युरिया मल भारतमा आठ सय रुपियाँमा पाइन्छ । सहकारीमा अभाव भएको मल नेपालगन्ज तथा खजुरा लगायतका बजारमा एक हजार पाँच सयदेखि दुई हजार रुपियाँसम्ममा बिक्री भइरहेको किसानले बताएका छन्। पैसा हुनेले बजारबाट महँगोमा मल खरिद गरेर ल्याए पनि सामान्य किसानले मल नै हाल्न नपाएको गुनासो खजुराका अर्का किसान वेदबहादुर ठकुरीले गरे । सहकारीले भने ७० बोरामात्र मल आएको र त्यो वितरण भइसकेको जनाएको छ ।













Discussion about this post