बाँके, मंसिर १३ गते ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुविधा पुगेका क्षेत्रका किसानको लगत सङ्कलन सुरु गरेको छ । सिँचाइ सेवा व्यवस्थित बनाउने र जल उपभोक्ता समिति गठन गर्ने उद्देश्यले आयोजनाले किसानको विवरण सङ्कलन गरिरहेको हो ।
आयोजनाको मूल नहर, शाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका किसानलाई जल उपभोक्ता सदस्यता प्रदान गर्न लगत सङ्कलन भइरहेको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताए ।
उनका अनुसार स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर पूर्वी तथा पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखा नहर आसपासका उपभोक्ताको विवरण सङ्कलन भइरहेको छ ।
“सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य गरिएको छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ,” निर्देशक आचार्यले भने, “किसानको लगतका आधारमा सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाउन सहज हुनेछ ।”
आयोजनाका अनुसार हालसम्म पश्चिम मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखा, उपशाखा तथा प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका किसानको विवरण सङ्कलन गरिएको छ ।
आयोजनाले घरदैलोमा पुग्ने लगत सङ्कलनकर्तालाई सही विवरण उपलब्ध गराउन किसानसँग आग्रह गरेको छ । किसानको वास्तविक विवरण प्राप्त भएपछि आवश्यक पानीको परिमाण पहिचान गरी सोहीअनुसार नहरमा पानी वितरण गर्न सहज हुने निर्देशक आचार्यले बताए ।
पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले आयोजनाको आगामी योजना निर्माणलाई सहज बनाउन किसानको लगत सङ्कलन भइरहेको बताए । उनका अनुसार पूर्वी नहरतर्फ लगत सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाका निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति हालसम्म ५१ प्रतिशत पुगेको छ । पूर्वाधार निर्माणमा अहिलेसम्म करिब २४ अर्ब रुपैयाँ खर्च भएको छ । मर्मतसम्भारको काम नियमित भइरहेको बताउँदै उनले निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको जानकारी दिए ।
आर्थिक वर्ष २०६२÷६३ मा सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले बाँकेका ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाबाट पश्चिम मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य छ । हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले बताए ।











Discussion about this post