बाँके, भदौ १८ गते ।
नेपालगन्ज बजारमा कर्णालीको स्याउको माग बढेसँगै भारत र चीनबाट आयात हुने स्याउको बिक्री घट्न थालेको छ । सस्तो, ताजा र स्वादिलो भएकाले उपभोक्ताको रोजाइ कर्णालीको स्याउतर्फ बढेको व्यवसायीहरूले बताएका छन् ।
जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन भएको स्याउ अहिले नेपालगन्ज, कोहलपुरसहित बर्दिया र दाङका बजारमा पुगेको छ । नेपालगन्जका फलफूल व्यवसायी शमसेर राईका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ सस्तो भएकाले यसको बिक्री बढेको हो ।
‘भारतीय स्याउ महँगो छ । कर्णालीको स्याउ स्वादिलो र सस्तो भएकाले उपभोक्ताले यही रोज्न थालेका छन्,’ उनले भने ।
व्यवसायी रमजान कबडियाका अनुसार भारतीय स्याउ प्रतिकिलो करिब २५० रुपैयाँमा बिक्री भइरहँदा कर्णालीको स्याउ १५० रुपैयाँमै पाइन्छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि स्याउ ढुवानी सहज भएकाले तराईका बजारमा यसको पहुँच बढेको उनले बताए ।
केही वर्षअघिसम्म कर्णालीको स्याउ हवाईजहाजबाट नेपालगन्ज ल्याउनुपर्ने अवस्था रहेको व्यवसायी इमरान कबडियाले बताए । अहिले जुम्लामै ग्रेडिङ र प्याकिङ गरेर सडकमार्फत सिधै नेपालगन्ज र कोहलपुर ल्याउन सकिने उनले बताए ।
नेपालगन्जमा अहिले रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ बिक्री भइरहेका छन् । धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका स्याउ फुटकर रूपमा बिक्री भइरहेका छन् ।
कोहलपुरस्थित कृषि उपज केन्द्रका अनुसार दैनिक ३ देखि ५ टनसम्म कर्णालीको स्याउ बिक्री भइरहेको छ ।
भारत र चीनबाट आयात हुने स्याउको दबदबा रहेको बजारमा स्वदेशी स्याउको बिक्री बढ्नु सकारात्मक भएको कोहलपुरका व्यवसायी धनिराम ओलीले बताए ।












Discussion about this post