बाँके, भदौ १८ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १३ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
नगरपालिकाका अनुसार ती सहकारी सञ्चालनमा छैनन्। नियमित साधारणसभा गरेका छैनन्। वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायत आवश्यक विवरणसमेत नगरपालिकामा बुझाएका छैनन्।
नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाले सार्वजनिक गरेको सूचनामा पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका र संस्था अद्यावधिक नगरेका सहकारीलाई अन्तिम मौका दिइएको उल्लेख छ। नगरपालिकाले ३५ दिनभित्र आवश्यक कागजातसहित उपस्थित भएर संस्था अद्यावधिक गर्न भनेको छ।
तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगरे दर्ता खारेजी प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।
नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार लामो समयदेखि निष्क्रिय रहेका सहकारीले नियमित साधारणसभा नगरेको, वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन नबुझाएको र कानुनले तोकेका अन्य विवरणसमेत कार्यालयमा पेश नगरेको पाइएको छ। कतिपय सहकारीको कार्यालयसमेत सञ्चालनमा नरहेको र पटकपटक सम्पर्क गर्दा सम्बन्धित सञ्चालक तथा पदाधिकारी सम्पर्कमा नआएको उनले बताए।
आचार्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार दर्ता खारेजी प्रक्रिया अघि बढाइएको बताए।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा संघीय सहकारी ऐन, २०७४ को व्यवस्थासमेत उल्लेख गरिएको छ। लगातार दुई वर्षसम्म कारोबार नगरेका वा कानुनबमोजिम बुझाउनुपर्ने विवरण नबुझाएका सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने कानुनी व्यवस्था रहेको नगरपालिकाले जनाएको छ।
यी हुन् दर्ता खारेजी प्रक्रियामा रहेका सहकारी
नगरपालिकाका अनुसार दर्ता खारेजी प्रक्रियामा रहेका सहकारीमा सफल पशुपन्छी सहकारी संस्था लिमिटेड, हाम्रो गौरव कृषि सहकारी संस्था लिमिटेड, चौतारी महिला कृषि सहकारी संस्था लिमिटेड, जुनतारा सशक्तीकरण कृषि सहकारी संस्था लिमिटेड, जनक शिक्षा कृषि सहकारी संस्था लिमिटेड, जय ठाकुरबाबा कृषि सहकारी संस्था लिमिटेड, कौशिलनगर कृषि सहकारी संस्था लिमिटेड, कनकासुन्दरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुनी कृषि सहकारी संस्था लिमिटेड, नव किसान कृषि सहकारी संस्था लिमिटेड, फुलबारी कृषि सहकारी संस्था लिमिटेड, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र फुलबारी महिला प्राङ्गारिक सहकारी संस्था लिमिटेड छन्।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामा ती सहकारीको कोपोमिसमा उल्लेखित ठेगानासमेत राखिएको छ। सूचीमा रहेका सहकारी कोहलपुर नगरपालिकाका विभिन्न वडामा दर्ता भएका छन्।










Discussion about this post