बाँके, असोज २० गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ खोरिया गाउँमा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । परम्परागत खेती र सामान्य पशुपालनमा सीमित गाउँमा करिब डेढ करोड रुपैयाँ लगानीमा आधुनिक पशुपालन फर्म सञ्चालनमा आएको छ ।
जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ‘जननी पशुपालन फर्म’ले आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएको हो ।
सहकारीका व्यवस्थापक गणेशबहादुर खत्रीका अनुसार करिब तीन बिघा क्षेत्रफलमा फैलिएको फर्ममा होलिस्टन फ्रिजन र जर्सी जातका १० वटा गाई, हरियाणा जातका पाँचवटा भैँसी, एउटा साँढे तथा करिब १५० वटा बाच्छाबाच्छी र पाडापाडी छन् ।
फर्मबाट दैनिक करिब १२० लिटरसम्म दूध उत्पादन भइरहेको खत्रीले बताए । उनका अनुसार उत्पादन भएको दूध कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जलगायतका बजारमा नियमित रूपमा आपूर्ति हुँदै आएको छ ।
“गुणस्तरीय दूध उत्पादन भएकाले बजारमा माग पनि बढिरहेको छ,” उनले भने, “दूध बिक्रीबाट मासिक करिब दुई लाख ५० हजार रुपैयाँ आम्दानी हुन्छ ।”
खत्रीका अनुसार फर्मले मासिक करिब एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । ग्रामीण क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत, घाँसे मैदान र वन क्षेत्रको उपयोग गर्दै सञ्चालन गरिएको फर्मले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको उनले बताए ।
“ग्रामीण क्षेत्रको प्राकृतिक स्रोत र स्थानीय सम्भावनालाई उपयोग गरेर फर्म सञ्चालन गरेका छौँ,” उनले भने, “यसले रोजगारी सिर्जना गर्नुका साथै गाउँको स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाएको छ ।”
हाल फर्ममा सातजना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । पशुपालनबाट गाउँमै आयआर्जनको अवसर सिर्जना भएपछि स्थानीयस्तरमा व्यावसायिक पशुपालनप्रति आकर्षण बढेको खत्रीले बताए ।
उनका अनुसार फर्मले पशुपालनलाई परम्परागत शैलीबाट बाहिर निकालेर आधुनिक र व्यावसायिक बनाउने प्रयास गरिरहेको छ ।
राप्तीसोनारी पशुपालनका लागि उपयुक्त क्षेत्र रहेको स्थानीय किसान गोर्खु चौधरीले बताए । यहाँको जलवायु, घाँसे मैदान र वन क्षेत्र पशुपालनका लागि अनुकूल रहेको उनको भनाइ छ ।
“यहाँ पशुपालनका लागि आवश्यक वातावरण छ,” चौधरीले भने, “त्यसैले पछिल्ला वर्षमा किसानहरू पनि व्यावसायिक पशुपालनतर्फ आकर्षित भइरहेका छन् ।”
फर्मले आगामी दिनमा दूध उत्पादन क्षमता बढाउने, पशुसंख्या विस्तार गर्ने तथा प्रशोधित दुग्धजन्य उत्पादनतर्फ अघि बढ्ने योजना बनाएको जनाएको छ । दही, घिउ र पनिर उत्पादन गर्ने सम्भावनाबारेसमेत अध्ययन भइरहेको फर्मले जनाएको छ ।











Discussion about this post