बाँके, कात्तिक २८ गते ।
सरकारले धान खरिदको कोटा आधा घटाएपछि बाँकेमा सरकारी खरिद प्रक्रिया सुरु हुन सकेको छैन । सरकारी खरिदको प्रतीक्षामा रहेका किसानलाई राहत दिन राप्तीसोनारीको एक सहकारीले भने १० हजार क्विन्टल धान खरिद सुरु गरेको छ ।
राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरस्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट गाउँमै धान खरिद गर्न थालेको हो । सहकारीले किसानले उत्पादन गरेका विभिन्न जातका धान उचित मूल्यमा खरिद गर्ने जनाएको छ ।
सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले स्थानीय किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न र व्यावसायिक कृषिमा प्रोत्साहन गर्न धान खरिद अभियान सञ्चालन गरिएको बताए ।
‘स्थानीय किसानलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद सुरु गरेका हौँ,’ उनले भने, ‘किसानको मेहनतको सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ ।’
सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार दुई सय रुपैयाँ, राधा–४ मोटो धान दुई हजार आठ सय ५० रुपैयाँ र हाइब्रिड धान दुई हजार सात सय ५० रुपैयाँमा खरिद गरिरहेको जनाएको छ । धान बिक्री गर्न चाहने किसानले सहकारीको गोदाम वा संकलन केन्द्रमा उत्पादन पु¥याउनुपर्ने व्यवस्था गरिएको छ ।
गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको वलीले बताए ।
राप्तीसोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी–५ बिनौनामा गोदामको व्यवस्था गरिएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले बताए ।
उनका अनुसार सहकारीले धान खरिदसँगै बिउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बिउ धानसमेत सहकारीले खरिद गर्ने गरेको छ ।
किसानको उत्पादन स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यसै वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ । मिल सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानीको सुविधा लिन सहज हुने अध्यक्ष वलीले बताए ।
स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिदको कोटा आधा घटाएर १० हजार क्विन्टलमा सीमित गरेको छ । सरकारी खरिद कोटा घटाउँदा किसानले उत्पादन गरेको धान बिक्री गर्न समस्या भएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।
सहकारीले गाउँमै धान खरिद सुरु गर्नु किसानका लागि राहतको विषय भएको उनको भनाइ छ । उनले सरकारी खरिद कोटा सीमित हुँदा किसानले सस्तो मूल्यमा व्यापारीलाई धान बेच्नुपर्ने अवस्था आउन सक्ने बताए ।
केसीले सरकारले धान खरिदको कोटा वृद्धि गरी तत्काल खरिद प्रक्रिया सुरु गर्नुपर्ने माग गरे । माग सम्बोधन नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी किसान महासंघ बाँकेले दिएको छ ।










Discussion about this post