बाँके, कात्तिक २० गते ।
बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका अन्नबाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसान बेसार खेतीतर्फ आकर्षित भएका छन् ।
जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि किसानले परम्परागत खेती छाडेर वैकल्पिक बालीका रूपमा बेसार खेती गर्न थालेका हुन् । जङ्गलसँग जोडिएको बस्तीका किसानका लागि बेसार खेती आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ ।
अन्य बालीमा जस्तो जङ्गली जनावरले बेसारमा क्षति नगर्ने र बिक्रीका लागि व्यापारी गाउँमै आउने भएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय किसानका अनुसार बेसार खेतीमा धान र मकैको तुलनामा लागत तथा श्रम कम लाग्छ भने आम्दानी पनि राम्रो हुन्छ ।
स्थानीय किसान सरस्वती बुढाथोकीले रासायनिक मलको सट्टा जङ्गलको घाँसपात र गोठेमल प्रयोग गरेर बेसार खेती गर्न सकिने भएकाले किसानलाई सहज भएको बताइन् । धान र मकै खेतीमा जङ्गली जनावरले ठूलो क्षति पुर्याउने गरे पनि बेसार खेती सुरक्षित रहेको उनको भनाइ छ ।
स्थानीय पूर्णकला गिरीले गत वर्ष चार कट्ठा जमिनमा बेसार खेती गरेकी थिइन् । उत्पादन र आम्दानी राम्रो भएपछि उनले यस वर्ष थप एक कट्ठामा खेती विस्तार गरेकी छन् । गत वर्ष २२ क्विन्टल बेसार उत्पादन गरेकी उनले यस वर्ष ३० देखि ३५ क्विन्टल उत्पादन गर्ने लक्ष्य राखेको बताइन् ।
“धान, मकै, गहुँ र तोरी बाँदर तथा बँदेलले सखाप पार्छन् । बेसारलाई भने जङ्गली जनावरले क्षति गर्दैनन् । त्यसैले जङ्गलछेउको जमिनमा बेसार खेती गरेका छौँ,” उनले भनिन् ।
गिरीले काँचो बेसार, बिउ र पिँधेको बेसार बिक्री गर्दै आएकी छन् । उनका अनुसार बेसारको बिउ प्रतिक्विन्टल छ हजार रुपैयाँ, काँचो बेसार प्रतिक्विन्टल तीन हजार रुपैयाँ र पिँधेको बेसार प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री हुन्छ ।
बेसार बिक्रीबाट हुने आम्दानीले घरपरिवारको खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न सहज भएको उनले बताइन् ।
जङ्गली जनावरबाट हुने क्षतिका कारण स्थानीय मनीषा घर्तीमगरले पनि खेती परिवर्तन गर्ने तयारी गरेकी छन् । उनले यसअघि दुई कट्ठा जमिनमा लगाएको मकै बाँदर र बँदेलले नष्ट गरेपछि आगामी वर्षदेखि त्यही जमिनमा बेसार खेती गर्ने योजना बनाएको बताइन् ।
स्थानीय सुकी डाँगीले पनि चार कट्ठा जमिनमा बेसार खेती गरेकी छन् । जङ्गली जनावरको डर नहुने र बिक्रीका लागि व्यापारी गाउँमै आउने भएकाले अन्य बालीको तुलनामा बेसार खेती सहज भएको उनले बताइन् ।
बेसार खेतीसँगै स्थानीय महिलाले यसको प्रशोधन र बजारीकरणमा समेत सक्रियता देखाएका छन् । गाउँमै बेसार पिँध्ने मिल सञ्चालन गरिएको छ भने बेसार छिल्ने मेसिनसमेत भित्र्याइएको छ । स्थानीय महिलाको समूहले सञ्चालन गरेको मिलमा समूहका सदस्यलाई विशेष छुटको व्यवस्था गरिएको मनकुमारी थापाले बताइन् ।
उनका अनुसार बेसार खन्नासाथ व्यापारी गाउँमै आएर खरिद गर्ने गरेका छन् । काँचो बेसार बिक्री नभए बिउका रूपमा राख्न र आवश्यकताअनुसार पिँधेर बिक्री गर्न सकिने भएकाले उत्पादन खेर जाने जोखिम कम रहेको उनले बताइन् ।
तराई भू–परिधि कार्यक्रम (ताल) को सहयोगमा किसानले बेसार खेतीसम्बन्धी जानकारी र सीप पाएपछि यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् । जङ्गली जनावरबाट अन्नबाली जोगाउन कठिन भएपछि किसानले बेसारलाई वैकल्पिक खेतीका रूपमा रोजेको स्थानीय बताउँछन् ।
पूर्णकलाका अनुसार सल्यानी टोलका करिब २० घरपरिवारले व्यावसायिक रूपमा बेसार खेती गर्दै आएका छन् । यस वर्ष गाउँमा एक सय क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने अनुमान गरिएको छ ।











Discussion about this post