बाँके, कात्तिक ८ गते ।
बाँकेमा एक महिनामा भएका १०५ सवारी दुर्घटनामध्ये ९७ वटा तीव्र गतिका कारण भएका छन् । दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र १३८ जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार असोजमा भएका दुर्घटनामा १५८ वटा सवारीसाधन संलग्न थिए । सातवटा दुर्घटना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, एउटा यान्त्रिक गडबडी र अर्को अन्य कारणले भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले असोजमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८०४ सवारीसाधनलाई कारबाही गरिएको बताए । कारबाहीबाट १४ लाख ५९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार प्रहरीले शान्ति सुरक्षा कायम गर्न एक हजार ९१२ पटक पिकेट र ३३७ पटक चेकजाँच गरेको छ ।
असोजमा बाँकेमा विभिन्न प्रकृतिका मुद्दा पनि दर्ता भएका छन् । प्रहरीका अनुसार जघन्य अपराधका १२, गम्भीर अपराधका ४६ र सामान्य अपराधका ६९ मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ मुद्दामा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
चालु मुद्दाका १७९ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनका क्रममा ७० जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीबाट २० वर्ष छ महिना २१ दिन कैद भुक्तान गराउनुपर्ने तथा बिगो र क्षतिपूर्तिबापत ३४ लाख ११ हजार ७५३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको नायब उपरीक्षक राठौरले बताए ।
अनलाइन जुवा तथा सट्टेबाजी नियन्त्रणका क्रममा कोहलपुर नगरपालिका–११ स्थित म्याक्स होटलबाट ४८ जना पक्राउ परेको उनले बताए । पक्राउ पर्नेमा भारतका ४६ र नेपालका दुई जना थिए । उनीहरूबाट ल्यापटप, मोबाइल फोन र डायरीलगायत सामग्री बरामद गरिएको थियो । अदालतको फैसलाबाट प्रतिवादीहरूलाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिबाना भएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रणतर्फ असोजमा १९ मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको राठौरले बताए । प्रहरीले ब्राउनसुगर, गाँजा, ट्रामाडोल र नाइट्रोजेपामलगायत लागुऔषध बरामद गरेको छ ।
अपराध न्यूनीकरणका लागि प्रहरीले विद्यालय तथा समुदायमा १०२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा दुई हजारभन्दा बढी पुरुष र एक हजार छ सयभन्दा बढी महिला सहभागी भएको राठौरले बताए । उनका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार, खोजतलास र घरेलु हिंसासम्बन्धी उजुरीको सम्बोधनलाई पनि प्राथमिकता दिइएको छ ।
असोज महिनाको तथ्याङ्कमा तीव्र गति सवारी दुर्घटनाको प्रमुख कारण देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि गति नियन्त्रण, ट्राफिक नियमको पालना र नियमित चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।











Discussion about this post