बाँके, कात्तिक १४ गते ।
तिहार नजिकिएसँगै बाँकेका खेतबारी सयपत्री फूलले पहेँलपुर हुन थालेका छन्। फूलको बढ्दो माग र बजारको सम्भावना देखेर किसानसँगै युवासमेत व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। यसले तिहारमा भारतबाट आयात हुने फूलको विकल्प स्थानीय उत्पादनबाटै खोज्ने प्रयासलाई बल पुगेको छ।
नेपालगन्ज, कोहलपुर, खजुरा र नरैनापुर क्षेत्रमा यस वर्ष व्यावसायिक रूपमा फूलखेती गरिएको छ। भारतीय फूलको आयातमा रोक लगाइएपछि स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षासहित किसानले खेती बढाएका हुन्।
नेपालगन्ज उपमहानगरपालिका–२० की बिन्दु चर्ती मगरले फूलखेती थालेको करिब एक दशक भयो। सुरुमा १० कट्ठा जमिनमा खेती गरेकी उनले अहिले क्षेत्रफल विस्तार गरेर दुई बिघामा पु¥याएकी छन्। उनका अनुसार तिहारमा फूलको माग अन्य समयको तुलनामा निकै बढी हुन्छ।
फूलको प्रयोग तिहारमा मात्र सीमित नरहेको उनको अनुभव छ। विवाह, विभिन्न समारोह, सभा तथा गोष्ठीमा सजावट र उपहारका रूपमा फूलको प्रयोग बढ्दै जाँदा यसको बजारसमेत विस्तार भएको छ।
‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो। जिल्लामा फूलको माग पनि राम्रो भएकाले यसतर्फ आकर्षित भएँ,’ उनले भनिन्, ‘सुरुमा कम लगानीबाटै व्यवसाय गर्न सकिने र बजार पनि राम्रो देखिएकाले खेती थालेकी हुँ। आम्दानी सन्तोषजनक छ।’
उनले सयपत्रीका टेनिस बल, कलकत्ते र ग्ल्याडियोलस जातका फूल उत्पादन गर्दै आएकी छन्। स्वदेशी फूलखेतीलाई टिकाउन भारतबाट आउने प्लास्टिकका फूल र मालामा समेत प्रतिबन्ध लगाउनुपर्ने उनको सुझाव छ।
फूलखेतीमा किसानको आकर्षणसँगै युवाको सामूहिक लगानी पनि थपिएको छ। नेपालगन्जका तीन युवा सुभाषजंग शाह, कीर्तिराज दीक्षित र सुशीलकुमार मौर्यले नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा जमिनमा यसै वर्षदेखि व्यावसायिक सयपत्री खेती सुरु गरेका छन्।
फरक–फरक पेसा र व्यवसायमा आबद्ध उनीहरूले तिहारको बजारलाई लक्षित गरेर सामूहिक रूपमा फूलखेती गरेका हुन्। अहिले उनीहरूको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ। उत्पादन बिक्रीसमेत सुरु भइसकेको शाहले बताए।
‘नेपालगन्जमा फूलको माग राम्रो भएकाले बजारलाई लक्षित गरेर खेती सुरु गरेका हौँ,’ उनले भने, ‘अब सहरका मुख्य चोकमा स्टल राखेर फूल र माला बिक्री गर्ने तयारी गरिरहेका छौँ।’
उत्पादित फूल ग्राहकसम्म पु¥याउन उनीहरूले होम डेलिभरी सेवासमेत सुरु गरेका छन्। बजारको मागअनुसार स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने योजना रहेको शाहले बताए।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार पछिल्ला वर्षमा जिल्लामा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। यसअघि घरायसी तथा निर्वाहमुखी प्रयोजनका लागि मात्र फूल लगाउने गरिएकामा अहिले किसानले बजारलाई लक्षित गरेर व्यावसायिक खेती गर्न थालेका छन्।
स्थानीयस्तरमै फूल उत्पादन गरी बिक्री गर्ने क्रम बढ्दा तिहारमा बाहिरबाट आउने फूलको निर्भरता घटाउन सहयोग पुग्ने शर्माको भनाइ छ। स्थानीय उत्पादनले बजार पाउन थालेपछि फूलखेतीलाई आम्दानीको वैकल्पिक स्रोतका रूपमा विकास गर्न सकिने सम्भावना पनि बढेको छ।
तिहारको समयमा फूलको माग उच्च हुने भए पनि वर्षभरि बजारको सुनिश्चितता, उत्पादनको व्यवस्थापन र बिक्री वितरणको व्यवस्था मिलाउन सके बाँकेमा फूलखेतीलाई थप विस्तार गर्न सकिने देखिन्छ।











Discussion about this post