बाँके, कात्तिक १४ गते ।
नेपालगन्जमा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप शनिबारदेखि सुरु भएको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा नेपालका विभिन्न प्रदेश र भारतका गरी १५० खेलाडी सहभागी छन्।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरे। उद्घाटनपछि विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा सुरु गरेका थिए। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख विष्टले खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन शनिबार दिउँसो ३ बजेसम्म १७ इभेन्ट सम्पन्न भएका छन्। प्रारम्भिक प्रतिस्पर्धामा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण पदक जित्दै अग्रता लिएको छ।
भारतको नयाँ दिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमीले चार स्वर्ण जितेको छ। त्यस्तै, ललितपुरको रातो बङ्गला स्कुल र काठमाडौंको मपिल क्यानेडियन स्कुलले एक–एक स्वर्ण पदक हात पारेका छन्।
प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन्। १७ वर्षभन्दा माथिका खेलाडीका लागि खुला उमेर समूहसमेत राखिएको छ। खेलाडीले फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी छ विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
शनिबार केही इभेन्टका हिट चरण सम्पन्न भएका छन्। बाँकी प्रतिस्पर्धा आइतबार हुनेछ। आयोजकका अनुसार आइतबार विभिन्न विधाका फाइनल खेल सञ्चालन हुनेछन्।
नेपाल स्वीमिङ एसोसिएसनको सहकार्यमा भइरहेको प्रतियोगितामा नेपालका सबै प्रदेशका खेलाडीसहित भारतको नयाँ दिल्ली र लखनउबाट आएका खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाले नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
च्याम्पियनसिपलाई नबिल बैंकले मुख्य प्रायोजन गरेको छ। नेपालगन्जमा स्वीमिङ खेलको विकास, विस्तार र खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो। खेलप्रेमी उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको पहलमा स्थापना भएको यो क्लब लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामार्फत नेपालगन्जलाई पौडी खेलको प्रतियोगिता तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र यस खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।










Discussion about this post