बाँके, कात्तिक १३ गते ।
अर्णव चक्रपातको प्रभावले मौसम बदली भई वर्षा हुने सम्भावना बढेपछि बाँकेका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि वर्षाले पाकेको धानबालीमा क्षति पु¥याउने चिन्ताले किसान बिहानदेखि साँझसम्म खेतमै व्यस्त छन्।
खेतमा धान पाकेर पहेँलपुर भएको छ। कतिपय किसानले धान काटेर खेतमै सुकाउन राखेका छन् भने कतिपय काट्ने तयारीमा छन्। तर, सम्भावित वर्षाले काटेको धान भिजाउने र खेतमै रहेको धान ढाल्ने चिन्ता बढाएको छ। त्यसैले किसान अन्य काम छाडेर धान भित्र्याउन लागेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धान पाकेर स्याहार्ने बेला चक्रपातको प्रभावले मौसम बदली भएपछि जिल्लाका अधिकांश किसान धान भित्र्याउन सक्रिय भएको बताइन्।
उनका अनुसार धानको बाला लामो समयसम्म भिजेमा गुणस्तर बिग्रने जोखिम हुन्छ। त्यसैले किसानलाई मौसमको अवस्था हेरेर सतर्कता अपनाउन आग्रह गरिएको छ। कृषि ज्ञान केन्द्रले मौसम प्रतिकूल हुन सक्ने भएकाले केही दिन धान नकाट्न र काटिसकेको धान भए छिटो सुरक्षित स्थानमा भित्र्याउन अनुरोध गरेको शर्माले बताइन्।
किसानका लागि अहिले धान भित्र्याउनु सहज भने छैन। चाडपर्वको समय भएकाले खेताला तथा मजदुर पाउन मुस्किल छ। थ्रेसर, ट्याक्टरलगायतका कृषि उपकरणसमेत सहज रूपमा उपलब्ध नहुँदा समस्या थपिएको छ।
हतारमा काटिएको धान सुकाउन र सुरक्षित भण्डारण गर्नसमेत समस्या भइरहेको नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताए।
‘धान काट्ने बेला भएको छ। पानी पर्ने सम्भावना बढेपछि सबै किसानलाई धान भित्र्याउने हतारो छ,’ उनले भने, ‘तर, खेताला पाउन मुस्किल छ। उपकरण पनि सहजै पाइँदैनन्। काटेको धान कसरी सुकाउने र सुरक्षित राख्ने भन्ने चिन्ता छ।’
डुडुवा गाउँपालिका–कम्दीका किसान रमेश मौर्यले विगतमा पनि असोज र कात्तिकमा परेको बेमौसमी वर्षा तथा बाढीले तयारी अवस्थामा रहेको धानबालीमा क्षति पु¥याएको स्मरण गरे। विगतको अनुभवले यसपटक किसानलाई थप सतर्क बनाएको उनको भनाइ छ।
‘विगतमा पनि बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नुपरेको थियो,’ उनले भने, ‘अहिले चक्रपातले समस्या गर्ने सुनेपछि सजग भएर बेलैमा धान भित्र्याउन लागेका छौँ।’
खजुराको डी गाउँका किसान वीरेन्द्र केसीका अनुसार गत असारमा रोपिएको धान अहिले पाकेर खेतमा पहेँलपुर भएको छ। धान काट्ने उपयुक्त समय भएकाले किसानले अन्य काम छाडेर बाली भित्र्याउन जोड दिएका छन्। वर्षा भएमा पाकेको धानमा ठूलो क्षति पुग्न सक्ने उनले बताए।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाको कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान खेती हुँदै आएको छ। यस वर्ष जिल्लामा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रले जनाएको छ। धान पाकेर भित्र्याउने समयमै मौसम प्रतिकूल बन्न सक्ने भएपछि यस वर्षको उत्पादन सुरक्षित गर्ने चुनौती किसानमाझ थपिएको छ।










Discussion about this post