बाँके, कात्तिक १३ गते ।
नेपालगन्जमा शनिबार र आइतबार तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ।
नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा यसपटक पहिलोपटक भारतीय खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन्। भारतको लखनउ, दिल्ली र पञ्जाबबाट करिब ५० जना खेलाडी सहभागी हुने क्लबका अध्यक्ष केशव न्यौपानेले बताए।
यसअघिका दुई संस्करणमा नेपाली खेलाडीले मात्रै प्रतिस्पर्धा गरेकोमा यसपटक भारतीय खेलाडीसमेत सहभागी हुने भएपछि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिइएको उनले बताए। प्रतियोगितामा भारतका ५० र नेपालगन्जसहित देशका विभिन्न स्थानबाट १५० गरी करिब २०० खेलाडी सहभागी हुने न्यौपानेले जानकारी दिए।
प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूह तथा १७ वर्षमाथिको खुला समूहमा प्रतिस्पर्धा हुनेछ। खेलाडीले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विधाका ८० इभेन्ट सञ्चालन गरिनेछ। प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनको तयारी पूरा भएको क्लबका उपाध्यक्ष एवं इभेन्ट म्यानेजर सूर्यमणि अधिकारीले बताए।
प्रतियोगिताका लागि नेपालगन्जका खेलाडीलाई पौडी प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले नियमित प्रशिक्षण दिँदै आएका छन्। उनीहरूले होटल सिद्धार्थको पौडी पोखरीमा खेलाडीलाई अभ्यास गराइरहेको अधिकारीले जानकारी दिए।
प्रतियोगितामा सहभागी खेलाडीको आवास र खानाको व्यवस्था आयोजकले गर्ने भएको छ। खेलाडीलाई नेपालगन्जका पौडी पोखरी भएका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था मिलाइएको क्लबले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
नेपालगन्ज स्वीमिङ क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका पौडी प्रतियोगिता आयोजना गर्दै आएको छ। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्लबले यसपटक भारतीय खेलाडीसमेत सहभागी गराएर तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गर्न लागेको हो।










Discussion about this post