काठमाडौं असार १ गते ।
इजरायलले इरानमाथि आक्रमण पश्चात दोस्रो दिन पनि दुई देशले एकअर्काविरुद्ध मिसायल आक्रमणहरू जारी राखेका छन्। यस्तोमा इरानले दोस्रो दिन राति प्रहार गरेको मिसायलले भने इजरायललाई तनाव बढाएको छ।
इरानले इजरायलविरुद्ध शनिबारदेखि नयाँ प्रविधि र उन्नत क्षमताको ब्यालिस्टिक मिसाइल प्रयोग गर्यो। जसले इजरायलको ‘डिफेन्स’ सिस्टमलाई ‘भेद’ गरेको दाबी गरिएको छ। जसका कारण दोस्रो दिन इजरायलमा तुलनात्मक रुपमा ठूलो क्षती भयो।
इरानको सरकारी समाचार संस्था फार्सका अनुसार तेस्रो चरणको हमलामा इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म हाज कासेम प्रशिक्षित ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जनाएको छ। उसले थप उन्नत हतियारहरु प्रयोग गर्ने घोषणा समेत गरेको छ।
इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहले उसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वातामा मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाइ अल्टिच्युड डिफेन्स (थाड) र इजरायलले प्रयोग गर्ने प्याट्रियट मिसाइल डिफेन्स तथा अन्य रक्षा प्रणालीलाई ‘भेद’ गर्दै टार्गेटमा निशाना लगाएको दाबि गरेको छ।
उक्त मिसाइलको नाम इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुद्र्स फोर्सका पूर्वकमान्डर कासिम सुलेमानीको सम्मानमा राखिएको थियो। यो मिसाइल सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको र गएको मे महिनामा हालका रक्षामन्त्री नासिरजादेहले यसको उन्नत संस्करणको उद्घाटन गरेका थिए।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो ठोस इन्धनमा आधारित छ। यसले १ हजार २०० किलोमिटरको दूरीसम्म मार हान्न सक्छ र मिसाइल रक्षा प्रणालीलाई छल्न सक्ने म्यानुभरेबल वारहेडले सजिएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो मिसायलको प्रभावकारीताले इजरायल र अमेरिकालाई भने तनावमा पारेको छ। यस्तोमा इजरायलले अमेरिकालाई इरानलाई पराजित गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ।
इरानले शुक्रबारदेखि नै इजरायलमाथि जबाफी हमला गरे पनि शनिबार राति भएको आक्रमणमा भने तुलनात्मक रूपमा क्षति बढी भएको जनाइएको छ। तेल अभिभबाट दक्षिणमा रहेको तटीय सहर बातयाममा शनिबार राति ठूला–ठूला भवनहरु ध्वस्त भएका छन्। ती भवनहरुमा मानिसहरू पनि पुरिएको हुनसक्ने आशंका गरिएको छ।
टाइम्स अफ इजरायलले एक अपार्टमेन्ट भवन ध्वस्त हुँदा ८ जनाको मृत्यु भएको जनाएको छ। त्यहाँ २० जना अझै बेपत्ता रहेको भनिएको छ। साथै २०० जनाभन्दा बढी मानिसहरू घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबारको बिहानीलाई कस्टपूर्ण र दुखदायी बिहानी भएको दाबि गरेका छन्। उनले भने ‘आतंककारी इरानको हमलाबाट बातयाम, तम्रा र अन्य वस्तीहरूमा क्षति पुगेको छ। यहुदी, अरबी, आप्रवासीहरू, वृद्ध, महिला र बालबालिकाहरूहरूलाई लक्ष्य गरी हमला गरिएको छ।’
आइतबार बिहान राजधानी तेल अभिभ र जेरूसलेममा विस्फोटका ठूला आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपी पूर्ण रुपमा क्षतीको विवरण आइसकेको छैन्। साथै इरानले हाइफा लगायतका क्षेत्रमा पनि आक्रमण गरेको थियो।
आइतबारसम्म सयौं इजरायली हरुलाई अस्पताल भर्ना गरीएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। इरानले शुक्रबार विहान गरेको जवाफी हमलामा ड्रोन, प्रहार गर्दा राती मिसायल, रकेट र ड्रोन हानेको थियो। शनिबारदेखि भने उसले नयाँ प्रविधिको मिसाइल प्रयोग गरेको बताएको छ।
इजरायलले भने शुक्रबार गरेको ‘अप्रत्यासित’ हमलामै इरानले वरिष्ठ सैन्य अधिकारी र वैज्ञानीकहरु गुमाउन पुगेको थियो। इरानमा पनि इजरायलले लगातार आक्रमण जारी राखेको छ। तेल प्रसोधन केन्द्रहरु लक्षित हुँदा इरानमा पनि हताहत हुनेको संख्या धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।
Discussion about this post