बाँके, भदौ २९ गते ।
भारतको रुपैडिहा प्रहरीले लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ गरी बहराइचस्थित रिमान्ड मजिस्ट्रेटको अदालतमा पेस गरेका पत्रकार बताउने रामजी सोनीलाई अदालतले २० हजार रुपैयाँको व्यक्तिगत बन्धपत्रमा रिहा गर्न आदेश दिएको छ।
रुपैडिहा प्रहरीले आइतबार पक्राउ गरी अदालतमा पेस गरेका सोनीलाई १४ दिनको न्यायिक हिरासतमा राख्न माग गर्दै रिमान्ड निवेदन दिएको थियो। तर, अदालतले तत्काल न्यायिक हिरासतमा राख्नुपर्ने आधार पर्याप्त नरहेको भन्दै प्रहरीको रिमान्ड निवेदन अस्वीकार गरेको हो।
रिमान्ड मजिस्ट्रेट पुष्पेन्द्र सिंहको इजलासले आरोपसँग सम्बन्धित रकम लेनदेन तथा लागूऔषध कारोबारमा संलग्नताको पुष्टि हुने पर्याप्त प्रमाण अनुसन्धान अधिकृतबाट पेस नभएको उल्लेख गरेको छ।
प्रहरीका अनुसार रुपैडिहा थाना क्षेत्रको स्टेशन रोड निवासी ३५ वर्षीय सोनीलाई आइतबार गोप्य सूचनाका आधारमा रुपैडिहा बजारस्थित रामदूत क्लाथ स्टोरनजिकबाट पक्राउ गरिएको थियो। उनी रुपैडिहाबाट ‘सुदर्शन न्युज’का रिपोर्टरका रूपमा काम गर्दै आएका छन् ।
प्रहरीका अनुसार गत सेप्टेम्बर ६ मा रुपैडिहा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले दशहरा बाग क्षेत्रमा लागूऔषधविरुद्ध कारबाही गरेको थियो। उक्त क्रममा शकीला बीबीलाई ११६ ग्राम अवैध स्म्याकसहित पक्राउ गरिएको थियो। सो घटनामा रुपैडिहा थानामा अपराध संख्या २३७/२०२६ अन्तर्गत एनडीपीएस ऐनको धारा ८/२१ बमोजिम मुद्दा दर्ता गरिएको थियो।
सोही घटनामा संलग्न रहेको आरोपमा सोनीलाई पक्राउ गरिएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनीमाथि लागूऔषध कारोबारमा संलग्न व्यक्तिसँग बार्गेनिङ गरेको तथा समाचार प्रकाशन नगर्ने भन्दै रकम मागेको आरोपसमेत रहेको छ।
प्रहरीले सोनीविरुद्ध एनडीपीएस ऐनको धारा ८/२१ र २९ अन्तर्गत अनुसन्धान अघि बढाउँदै अदालतबाट १४ दिनको न्यायिक हिरासतको अनुमति मागेको थियो।
अदालतमा भने प्रहरीको दाबीअनुसारको रकम लेनदेन पुष्टि हुने प्रमाण प्रस्तुत नभएको उल्लेख गरिएको छ। प्रहरी अनुसन्धानमा शकीला बीबीको बयानलाई समेत आधार बनाइएको देखिन्छ। उक्त बयानमा सोनीले लागूऔषध बिक्रीसम्बन्धी समाचार प्रकाशन नगर्न भन्दै दुई पटक २०–२० हजार रुपैयाँ लिएको र कार्यालयमा एसी जडानको माग समेत उल्लेख गरिएको थियो।
तर, अदालतको आदेशमा उक्त रकम लेनदेन पुष्टि हुने अन्य प्रमाण अनुसन्धान अधिकृतले पेस नगरेको उल्लेख छ। बयानको सत्यता परीक्षणका लागि पर्याप्त अनुसन्धान नभएको तथा लागूऔषध बिक्रीसँग सम्बन्धित आरोप पुष्टि गर्ने स्वतन्त्र साक्षीसमेत पत्रावलीमा नरहेको अदालतले जनाएको छ।
त्यस्तै, कथित बयान वा बरामद मुचुल्काको सत्यता पुष्टि गर्ने अडियो वा भिडियो रेकर्डसमेत केस डायरीमा पेस नभएको अदालतको आदेशमा उल्लेख छ।
अदालतले उपलब्ध कागजातका आधारमा सोनी लागूऔषध बिक्री तथा त्यसको दुष्प्रेरण वा आपराधिक षड्यन्त्रमा संलग्न रहेको पुष्टि हुने पर्याप्त प्रमाण तत्काल नदेखिएको निष्कर्ष निकालेको छ। सोही आधारमा उपनिरीक्षक भीम सिंहले पेस गरेको १४ दिनको न्यायिक हिरासतसम्बन्धी रिमान्ड निवेदन खारेज गरिएको हो।
अदालतले सोनीलाई २० हजार रुपैयाँको व्यक्तिगत बन्धपत्र पेस गरेपछि रिहा गर्न आदेश दिएको छ। रिहाइका क्रममा अनुसन्धानमा सहयोग गर्नुपर्ने, मुद्दासँग सम्बन्धित व्यक्तिलाई कुनै किसिमको प्रलोभन वा धम्की दिन नहुने, प्रमाण तथा साक्षीलाई प्रभावित पार्न नहुने र अदालत वा अनुसन्धान अधिकृतले बोलाएको अवस्थामा उपस्थित हुनुपर्ने सर्त समेत तोकिएको छ।
यसअघि प्रहरीले सोनीविरुद्ध सन् २०२१ र २०२२ मा समेत विभिन्न आपराधिक मुद्दा दर्ता भएको प्रहरी अभिलेखमा रहेको जनाएको थियो। ती मुद्दाहरूमा भारतीय दण्ड संहिताका विभिन्न धाराहरू उल्लेख गरिएको प्रहरीले बताएको छ।
प्रहरीले पक्राउ अभियान रुपैडिहा थानाका प्रहरी निरीक्षक हरेन्द्र कुमार मिश्रको नेतृत्वमा सञ्चालन गरिएको जनाएको छ। टोलीमा उपनिरीक्षक भीम सिंह, दिलीप कुमार, नरेन्द्र गुप्तालगायत प्रहरी जवान सहभागी थिए।
अदालतको आदेशको प्रतिलिपि आवश्यक कारबाहीका लागि बहराइचका प्रहरी उपरीक्षक तथा जानकारीका लागि मुख्य न्यायिक मजिस्ट्रेटसमक्ष पठाउनसमेत आदेश दिइएको छ।
अदालतले रिमान्ड अस्वीकार गर्दै सोनीलाई बन्धपत्रमा रिहा गरे पनि उनीमाथि प्रहरीले लगाएको आरोपको अन्तिम निरुपण भने भएको छैन। मुद्दामा थप अनुसन्धान र त्यसक्रममा संकलन हुने प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढ्नेछ।
यो समाचार पनि पढ्नुहोस्
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा










Discussion about this post