बाँके चैत १७ गते ।
नेपालगन्ज उप–महानगरपालिका–१२, कोरियनपुरस्थित सडकमा जलेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढा मगरको घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए। उनका अनुसार समितिले घटनाको सत्यतथ्य र कारणबारे सूक्ष्म रूपमा अनुसन्धान गर्नेछ।
एसपी जिसीले भने, “घटनाको सत्यतथ्य छानबिनका लागि डीएसपी पातलीको नेतृत्वमा समिति गठन गरेका छौं। अनुसन्धानपछि घटनाको यथार्थ कारण खुल्नेछ।”
प्रहरीका अनुसार शनिबार राति करिब ११ः३५ बजे मगर नेपालगन्ज नर्सिङहोम पछाडिको क्षेत्रमा जलेको अवस्थामा फेला परेकी थिइन्। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि तत्काल भेरी अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति १ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले मगर विवाहित रहेको र उनका चार वर्षीया छोरी रहेको जनाएको छ। उनी मो. आरिफ ढपालीसँग लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ढपालीसहित उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। अन्य केही व्यक्तिहरू फरार रहेको र उनीहरू भारततर्फ गएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको तीव्र रूपमा अनुसन्धान भइरहेको जनाएको छ।













Discussion about this post