बाँके चैत २७ गते ।
डिभिजन वन कार्यालय बाँकेले वर्षौँदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र काठ गोलिया लिलाम बिक्री गरेको छ।
लिलामबाट कार्यालयले सरकारको खातामा ४२ लाखभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।
सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएका ११९ थान जिर्ण साइकल र २५०१.९३ क्यूफुट खयर, साल, सागौनलगायतका काठ गोलिया लिलाम प्रक्रियामार्फत बिक्री गरिएको हो। यसबाट भ्याटबाहेक ४२ लाख ८६ हजार ४०० रुपियाँ राजस्व संकलन भएको छ। जसमध्ये साइकल बिक्रीबाट ७९ हजार रुपियाँ र काठ बिक्रीबाट ४२ लाख ७ हजार ४०० रुपियाँ प्राप्त भएको छ।
उनले कार्यालय परिसरमा थन्किएका पुराना सामग्रीको व्यवस्थापन क्रमशः अन्य सवडिभिजन वन कार्यालयसम्म विस्तार गरिने जानकारी दिए। यसले सरकारी राजस्व वृद्धि हुनुका साथै कुहिने तथा नष्ट हुने सामग्रीको उचित व्यवस्थापन हुने उनको भनाइ छ।
कार्यालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टङ्क गुरुङका अनुसार लिलामबाट प्राप्त रकम प्रदेश सरकारको सञ्चिति कोषमा जम्मा भइसकेको छ। साथै, ९२२ क्यूफुट चिरान काठ हाल लिलाम प्रक्रियामा रहेको उनले बताए।
लिलाम अघि कार्यालय परिसरमा थन्किएका सामग्रीका कारण झाडी बढ्ने तथा सर्पलगायतका जङ्गली जनावरको जोखिम रहने समस्या रहेको थियो। लिलामपछि परिसरको सरसफाइ र सौन्दर्यमा सुधार आएको कार्यालयले जनाएको छ।
वरिष्ठ वन अधिकृत सुशील सुवेदीले कार्यालय प्रमुख गुप्ताको आगमनपछि व्यवस्थापन तथा राजस्व संकलनमा उल्लेखनीय सुधार भएको बताए।
कार्यालयका अनुसार राप्तीसोनारी गाउँपालिका–१, ३ र ४ मा २७०० हेक्टर क्षेत्रमा भुवरभवानी चक्ला वन व्यवस्थापन गरिएको छ। यसअघि २२६८ हेक्टर क्षेत्रमा शमशेरगन्ज–माथेवास चक्ला वन सञ्चालनमा थियो।
पछिल्लो एक वर्षमा बाउन्ड्री वाल निर्माण, जनचेतनामूलक चित्रांकन, नयाँ प्रवेशद्वार निर्माण, ५ करोड लागतमा तीनतले प्रशासनिक भवन निर्माणाधीन अवस्था तथा अग्नि नियन्त्रण सवारी साधन व्यवस्थापनलगायतका कार्य सम्पन्न भएका छन्।
बाँके जिल्लामा हाल ११९ सामुदायिक वन रहेका छन्, जसले २६ हजार ११६ हेक्टर क्षेत्रफल ओगटेका छन्। तीमध्ये ३५ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ भने दुई सरकारी चक्ला वन सञ्चालनमा रहेका छन्।











Discussion about this post