बाँके चैत २७ गते ।
पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषधको प्रयोग तथा कारोबार नियन्त्रण गर्न सक्रियता बढाएको छ। यसक्रममा सम्भावित नाका तथा चेकपोस्टहरूमा तालिमप्राप्त कुकुरसहित कडाइका साथ चेकजाँच भइरहेको छ। विशेषगरी कर्णाली प्रदेशमा नेपालगन्ज हुँदै लागुऔषध भित्रिने क्रम बढ्दो देखिएको प्रहरीले जनाएको छ।
यसै क्रममा बिहीबार नेपालगन्जबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको एक सवारी साधनबाट प्रहरीले एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर भित्रिने मुख्य नाका मानिएको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोस्टबाट २९ वर्षीय विशाल खाँण ठकुरीलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी सुब्बाकुनाको संयुक्त टोलीले अपराह्न करिब ५ बजे सवारी जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ००५४ नम्बरको फोर्स गाडी जाँच गर्दा ठकुरीको साथबाट २ पोका र १ पुडिया गरी जम्मा ७ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ठकुरीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।










Discussion about this post