बाँके, कात्तिक ११ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका महिलाले यस वर्षको दसैंमा सात सय खसी–बोका बिक्री गरेका छन् । नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध करिब चार सय महिला किसानले व्यावसायिक रूपमा पालेका खसी–बोका बिक्री गरेका हुन् ।
सहकारीकी अध्यक्ष गंगा शाहका अनुसार दसैंका बेला व्यापारी र उपभोक्ता सहकारीमै पुगेर खसी–बोका खरिद गरेका थिए । जिउँदो खसी–बोका प्रतिकिलो सात सय रुपैयाँका दरले तौल गरेर बिक्री गरिएको उनले बताइन् ।
“महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा ल्याउनुहुन्छ । उहाँहरूकै उपस्थितिमा तौल गरेर बिक्री गर्ने गरेका छौँ,” शाहले भनिन्, “यस वर्षको दसैंमा सात सय खसी–बोका बिक्री भएका छन् ।”
सहकारीले खसी–बोकाको बजार व्यवस्थापन गर्न थालेपछि महिला किसानलाई बिक्रीका लागि बजार खोज्नुपर्ने र व्यापारीबाट ठगिने समस्या कम भएको छ । घरमै बाख्रा पालन गर्दै आएका महिलाले सहकारीमार्फत उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।
फत्तेपुरकी महिला किसान सावित्री चौधरीले सहकारीले खसी–बोका बिक्रीको व्यवस्था मिलाउन थालेपछि बजार खोज्ने झन्झट हटेको बताइन् । व्यापारीबाट ठगिने समस्यासमेत कम भएको उनको भनाइ छ ।
“पहिले खसी–बोका बेच्न बजार खोज्नुपथ्र्यो । अहिले सहकारीले नै बिक्रीको व्यवस्था मिलाउँछ,” चौधरीले भनिन् ।
उनका अनुसार फत्तेपुरका महिला किसानले हरेक वर्ष दसैं र बकर इदका बेला ठूलो संख्यामा खसी–बोका बिक्री गर्दै आएका छन् ।
सहकारीमार्फत व्यावसायिक बाख्रा पालनमा लागेका महिलाले अहिले वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको अध्यक्ष शाहले बताइन् । महिलाले व्यावसायिक रूपमा बाख्रा पालन गर्न थालेपछि जिल्लामा खसी–बोकाको उत्पादनसमेत बढ्दै गएको उनको भनाइ छ ।
सहकारीकी व्यवस्थापक दिव्या गुरुङका अनुसार खसी–बोका बिक्रीबाट आम्दानी हुन थालेपछि महिला किसानलाई घरखर्च चलाउन सहज भएको छ । सहकारीमा आबद्ध एक हजारभन्दा बढी महिलाले बाख्रा पालनसँगै धान, मकै र गहुँ खेतीसमेत गर्दै आएका छन् ।
सहकारीले उत्पादनको बजार व्यवस्थापनमा सहजीकरण गर्न थालेपछि फत्तेपुरका महिला किसानलाई पशुपालनबाट नियमित आम्दानी गर्ने अवसर बढेको छ ।











Discussion about this post