बाँके, कात्तिक १८ गते ।
बाँकेको नेपालगन्ज–कोहलपुर सडकखण्डमा गरिएको लागूऔषध सेवन (लापसे) परीक्षणका क्रममा ११ जना चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले मंगलबार नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकमा सार्वजनिक सवारीका चालक तथा सहचालकको लापसे परीक्षण गरेको हो।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको सहकार्यमा गरिएको परीक्षणमा २५ वटा सवारीसाधनका चालक तथा सहचालकको ड्रग टेस्ट किटमार्फत परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।
उनका अनुसार परीक्षणका क्रममा ११ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको उनले बताए।
प्रहरी निरीक्षक शाहीले सडक दुर्घटना न्यूनीकरण र यात्रालाई सुरक्षित बनाउन नियमित रूपमा सवारीसाधन तथा चालकको जाँच गर्दै आएको बताए। लापसे र मापसे गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको उनको भनाइ छ।
‘लापसे तथा मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्छ। सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्रा सुनिश्चित गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने, ‘यस्ता परीक्षणलाई आगामी दिनमा पनि निरन्तरता दिँदै लागूऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कानुनअनुसार कारबाही गर्छौँ।’










Discussion about this post