बाँके, कात्तिक १८ गते ।
तिहार नजिकिएसँगै बजारमा माटाका पालाको माग बढेको छ । झिलिमिली बत्ती र आधुनिक सजावटका सामग्रीको प्रयोग बढ्दै गए पनि तिहारमा माटाका पालाको महत्त्व भने कायमै छ । तिहारमा घर, आँगन र मठमन्दिरमा माटाका पाला बाल्ने परम्पराका कारण कुमाल समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरका कृपाराम कुम्हारले पुख्र्यौली पेसाको संरक्षणका लागि माटाका पाला र गुजी बनाउँदै आएको बताए । उनका अनुसार आधुनिक सामग्रीको प्रयोग बढे पनि परम्परागत माटाका सामग्रीको माग तिहारमा अझै हुने गरेको छ ।
तिहारमा घर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्ने परम्परा रहेकाले यस समयमा माटाका पालाको बिक्री बढ्ने गरेको छ । यही मागलाई ध्यानमा राखेर कुमाल समुदायका परिवार अहिले पाला बनाउन व्यस्त छन् ।
अर्जुन कुम्हारलाई पनि तिहारका लागि माटाका पाला बनाउन भ्याइनभ्याइ छ । उनले तिहारको एक सिजनमा मात्रै करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने बताए ।
कुमाल समुदायका लागि माटाका पाला बनाउने काम आम्दानीको माध्यम मात्रै होइन, पुर्खाबाट हस्तान्तरण हुँदै आएको सीप र पहिचानसमेत हो । माटो संकलन गर्ने, मुछ्ने, आकार दिने, सुकाउने र बिक्रीका लागि तयार पार्ने काममा उनीहरू व्यस्त हुने गरेका छन् ।
विनोद कुम्हारले अन्यत्र रोजगारी गरे पनि बिहान र बेलुकाको समय माटाका भाँडाकुँडा बनाउन खर्चिने गरेको बताए । यसबाट अतिरिक्त आम्दानीसमेत हुने गरेको उनको भनाइ छ ।
तिहारमा माटाका पालाको माग बढ्दा कुमाल समुदायका परिवारलाई आम्दानीको अवसर मिल्ने गरेको छ । तर, माटाका सामग्री बनाउन धेरै मेहनत गर्नुपर्ने र बजारमा आएका आधुनिक सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको उनीहरू बताउँछन् ।













Discussion about this post