बाँके, कात्तिक १६ गते ।
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेपछि थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४० बजे उद्योगभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको प्रहरीले जनाएको छ।
आगलागीमा परी बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीन गरी आठ जना घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पु¥याइएको थियो।
घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको भन्दै थप उपचारका लागि बिहान ८ः४५ बजे लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।
अन्य घाइतेमा २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव तथा भारतको बहराइच जिल्लाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
आगलागीको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट उद्योगमा भएको भौतिक तथा आर्थिक क्षतिको विवरण संकलन हुन बाँकी रहेको प्रहरीले बताएको छ।










Discussion about this post