सोलुखुम्बु, कात्तिक १७ गते ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडु रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनापछि उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार घाइते तीनै जनालाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ८ः१० बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा एकापसमा ठोक्किएका थिए । दुर्घटना हुँदा फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए ।











Discussion about this post