एजेन्सी
काठमाडौं असार २८ गते ।
प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको चेल्सी शेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । डेविड म्याकगोल्डरिकले घरेलु मैदानमा दुई गोल गरेपछि शेफिल्डले लण्डन क्लब चेल्सीमाथि ३-० को शानदार जित हात पारेको हो । म्याकगोल्डरिकले खेलको १८औं र ७७औं मिनेटमा गोल गरे ।
यस्तै ओलिभर म्याकबर्नीले ३३औं मिनेटमा गोल गरे । तेस्रो स्थानको चेल्सी पराजित भएपछि चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडलाई भने फाइदा पुगेको छ । हारपछि ३५ खेलबाट ६० अंक रहेको चेल्सी तेस्रो स्थानमा यथावत नै छ ।
तर लेस्टर र युनाइटेडले अबको खेल जितेमा भने चेल्सीलाई पछि पार्न सक्नेछ । ३४ खेल खेलेका लेस्टरको ५९ र युनाइटेडको ५८ अंक छ । चेल्सीलाई हराएको शेफिल्डले ३५ खेलबाट ५४ अंक जोडेको छ र छैटौं स्थानमा उक्लेको छ ।
Discussion about this post