बाँके चैत ५ गते।
वन क्षेत्रमा बर्सेनी लाग्ने डढेलोबाट हुने क्षति न्यूनीकरण गर्न बाँके जिल्लामा ‘आगो नियन्त्रण दस्ता’ गठन गरिएको छ। वन डिभिजन कार्यालय बाँकेले २४ सदस्यीय उक्त दस्ता निर्माण गरेको हो।
वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टंक गुरुङका अनुसार डढेलो बढी हुने क्षेत्रको पहिचान गरी नियन्त्रणका लागि दस्ता तयार गरिएको हो। शम्शेरगन्ज क्षेत्रमा १२ जना र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गत भूवरभवानी चक्ला वन क्षेत्रमा १२ जना सदस्यीय टोली परिचालन गरिनेछ।
डढेलो नियन्त्रणका लागि वन उपभोक्ता महासङ्घसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै छ हजार लिटर पानी क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको गुरुङले बताए।
“उपलब्ध स्रोत–साधनका आधारमा हामी डढेलो नियन्त्रणका लागि तयारी अवस्थामा छौँ,” उनले भने। उनका अनुसार आगलागी भएपछि उक्त दस्ताले नियन्त्रण तथा उद्धार कार्य गर्नेछ।
वन डिभिजन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिए। उनका अनुसार शम्शेरगन्ज र सिक्टा क्षेत्रका वनमा छ–छ जनाको टोली तैनाथ गरिएको छ।
हेरालु टोलीले फायरलाइन सफा तथा संरक्षण गर्ने कार्य गरिरहेको र जिल्लामा हाल १०० किलोमिटर रहेको फायरलाइन विस्तार गरी १२० किलोमिटर पुर्याइएको जनाइएको छ।
यसैबीच, शम्शेरगन्जमा २५ लाख रुपैयाँ लागतमा २० हजार लिटर क्षमताको ‘ओभरहेड पानी ट्याङ्की’ निर्माण गरिएको छ, जसले डढेलो नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँकेमा विगतका वर्षहरूमा डढेलोका कारण ठूलो मात्रामा वन्यजन्तुको क्षति हुँदै आएको छ।













Discussion about this post