बाँके चैत १२ गते।
बाँके जिल्लामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या घटेको छ। यस वर्ष जिल्लाबाट कुल ९ हजार ६१५ जना विद्यार्थीले एसइई दिने भएका छन्।
गत वर्ष बाँकेबाट १० हजार ४१६ जना विद्यार्थीले एसइई दिएका थिए। यस वर्ष भने अघिल्लो वर्षको तुलनामा ८०१ जना कम विद्यार्थी परीक्षा दिने भएका हुन्।
आगामी चैत १९ गतेदेखि सुरु हुने एसइईका लागि जिल्लाका आठ स्थानीय तहका २७ सामुदायिक र ९ संस्थागत गरी कुल ३६ वटा परीक्षा केन्द्र तोकिएका छन्। ती केन्द्रमार्फत ७ हजार ९१३ जना नियमित र १ हजार ७०२ जना ग्रेडवृद्धि गरी जम्मा ९ हजार ६१५ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिएका छन्।
उनका अनुसार दुई मदरसासहित १०५ सामुदायिक र १०६ संस्थागत गरी कुल २११ विद्यालयका ४ हजार ६७५ छात्रा र ४ हजार ९४० छात्र परीक्षामा सहभागी हुनेछन्। प्राविधिक धारतर्फ १० सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेडवृद्धि गरी ३२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन्।
विद्यालयगत विवरणअनुसार सामुदायिकतर्फ १०५ विद्यालयका ६ हजार ३८५ विद्यार्थी (३ हजार ३०२ छात्रा र ३ हजार ८३ छात्र) तथा संस्थागततर्फ १०६ विद्यालयका ३ हजार २३० विद्यार्थी (१ हजार ३७३ छात्रा र १ हजार ८५७ छात्र) रहेका छन्।
परीक्षा केन्द्र वितरणअनुसार नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउँपालिकामा ४, बैजनाथ गाउँपालिकामा ४, खजुरा गाउँपालिकामा ४ तथा नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक–एक गरी ३६ केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत घनश्यामबहादुर मुरावले जानकारी दिएका छन्।
नेपालगन्जमा ७ सामुदायिक र ४ संस्थागत तथा कोहलपुरमा ५–५ सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने अन्य पालिकामा सामुदायिक विद्यालयमै केन्द्र तोकिएका छन्।
कुल परीक्षा केन्द्रमध्ये नेपालगन्जस्थित महेन्द्र मावि केन्द्रमा सबैभन्दा बढी ३७५ जना विद्यार्थी सहभागी हुनेछन् भने राप्तीसोनारी–स्थित शिवशक्ति मावि केन्द्रमा सबैभन्दा कम १६२ जना विद्यार्थी रहनेछन्।
कैदीबन्दी र बालसुधार गृहका विद्यार्थी पनि सहभागी
यस वर्ष जिल्लामा ४१ जना कैदीबन्दी तथा बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ताले पनि एसइई दिने भएका छन्। दुई बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता र दुई कारागारका ८ जना कैदीबन्दी परीक्षामा सहभागी हुनेछन्।
डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहका ३० जना तथा बैजनाथ–३ स्थित नौबस्ता बालसुधार गृहका ३ जना बालबिज्याइँकर्ताले परीक्षा दिने सम्बन्धित कार्यालयले जनाएको छ। त्यसैगरी नेपालगन्ज र नौबस्ता कारागारका ४–४ जना कैदीबन्दी पनि एसइईमा सहभागी हुनेछन्।
उनीहरूलाई नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।
पछिल्ला वर्षको प्रवृत्ति
बाँकेमा पछिल्ला तीन वर्षसम्म एसइई दिने विद्यार्थी संख्या बढ्दो क्रममा थियो। २०७९ मा ८ हजार ८८६, २०८० मा ९ हजार २९३ र २०८१ मा १० हजार ४१६ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, यस वर्ष उक्त संख्या घटेको देखिएको छ।













Discussion about this post